वीरगञ्ज, ११ फागुन। ‘शिव मठ पर राम खेलैए होली……’ वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म मिथिलाञ्चलको घर, गाउँ, टोल र छिमेकमा यस्ता माधुर्यता र प्रेमभावका यस्ता होली गीत गाउने चलन हराउँदै गएको छ ।

Advertisement

पश्चिमी पर्साको बन्जारे बस्ने ६० वर्षीय राम अधिन पुख्र्यौली मृदंग बजाई फागु गीत जोगिरा गाउन नपाएकामा दुःखी छन् । उनी भन्छन् – “पहिले पहिले वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि टोल टोल घुमेर फागु पर्वको आगमन भएको जानकारी दिन जोगिरा गीत गाएर हिँड्ने चलन थियो ।”

अहिले गाउँका युवा वैदेशिक रोजगारीका लागि खाडी मुलुक गएकाले गीत गाउन सक्ने बूढापाकाहरुको अभावमा न त पहिले जस्तो ढोल मृदंग बज्छ न त फागु गीत नै गाइन्छ । उदास देखिएका वृद्ध राम अधिन भन्छन् – “होली गीतमा पहिले कामोत्सवको मर्म, धार्मिक र आध्यात्मिक विशिष्टता, जीवनको उमंग, ऊर्जा, सांस्कृतिक परम्परा, पिरती तथा उन्मुक्ति भाव झल्किन्थ्यो । तर अब उच्छृंखल गीतहरु गाइन्छ । माधुर्यता र प्रेमभाव मिसिएको होली गीत विरलै सुन्न पाइन्छ ।

पश्चिमी पर्सा जानकी टोल बस्ने ५० वर्षीय लक्ष्मी प्रसादको गुनासो छ – “जोगिरा सर….र……र….र.., कौन ताल पर ढोलक बाजे, कौन ताल पर मृदंग…….., कौन ताल पर गौरिया नाचे, कौन ताल पर हम….जोगिरा सर….र..र..र…. जस्ता गीत अहिले सुन्न पाइँदैन न त मृदंग, ढोल र डम्फाको स्वर नै सुन्न पाइन्छ ।”

सांस्कृतिक एवं ऐतिहासिक पर्व फागुले लक्ष्मीप्रसादलाई मात्र होइन बारा जिल्लाको मुसहर बस्तीमा बस्ने चन्देश्वरलाई समेत चिन्तित बनाएको छ । उनी भन्छन् – “होलीको पौराणिकता अब हराइसकेको छ । दिनहुँ जसो हुने झैँझगडा, राग, द्वेषका कारण होली गीत गाउन नै छाडिएको छ ।”

भनिन्छ होलीको तर्क, दर्शन, लौकिकतालाई गम्भीरतापूर्वक नलिइएकाले अहिलेको होलीमा संकीर्णता देखापरेको छ । अहिलेको होली भोगवादी र शहरमुखी भएको गुनासो सुनिन थालेको छ र पौराणिकतासँग जोडिएको होली गीत लोप हुँदै गएको छ ।

“पहिले पहिले बूढापाकाहरु रात परेपछि गाउँको बीचमा रहेको चौपालमा झ्याली, मृदंग, ढोल लिएर समूहगत रुपमा होली गीत जोगिरा गाउने गर्दथे,” मोहम्मद इसराइल भन्छन् – “तर अब त्यो संस्कृति हराएर गयो ।”

अधिकाँश युवा कामका लागि अरब मुलुक गएकाले होली गीत गाउने चलन हराउँदै गएको बताउने वीरगञ्ज महानगरपालिका वडा नं ३ का अरमान अलि भन्छन् – “अबको होली प्रेम र सद्भावको नभएर वैराग्य र वैमनस्यपूर्ण होली भएको छ । भाङको ठाउँमा रक्सी र प्रेम ठाउँमा द्वेष देखापरेको छ ।”

पहिले पहिले गाइने होलीका गीतमा धार्मिक तथा सद्भावका सन्देश बढी पाइन्थ्यो । उच्छृंखल गीतको सिडी चक्काहरु बजारमा बढी मात्रा पाउन थालेका छ । यस्ता होली गीतमा अश्लीलता र फोहरी शब्दहरु बढी हुने वीरगञ्ज महानगरपालिका वडा नं २२ रमगढवाका शेसमन पण्डितको भनाइ छ ।

मिथिलाको शहरी क्षेत्र भन्दा ग्रामीण क्षेत्रमा गाइने यस्ता होली गीतमा त्यस भेगको माटोको बास्ना हुने भएकाले यस्ता गीतको रक्षा गर्नु आजको आवश्यकता भएको संस्कृतिविद्हरु औँल्याउँछन् ।

होलीमा वासना, प्रेमालाप, सिताराम, शिवपार्वतीमा केन्द्रित भएर जोगिरा गीत गाउने परम्परा विगतमा थियो । तर अहिलेको होली गीतमा पश्चिमी सभ्यता हाबी हुँदै गएको देखिन्छ । होली यस्तो हुनुपर्छ जसमा महिलाहरु निर्धक्क भएर बाहिर निस्कन सकून् । पर्सावासीहरु यही भावना व्यक्त गर्दछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!