प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन सकिएपश्चात अहिले प्रादेशिक राजधानीको चर्चा चुलिएको छ । १ नम्बर प्रदेशको राजधानी कहाँ बन्छ भन्ने बिषयमा पनि सर्वत्र चासो छ । प्रशासनीक गौडा हुँदै यसअघि पूर्वाञ्चल बिकासक्षेत्रको सदरमुकामसमेत रहेको धनकुटालाईनै प्रादेशिक राजधानी बनाईनुपर्ने मागसहित धनकुटामा आन्दोलन पनि भईरहेको छ । धनकुटालाई नै प्रादेशिक राजधानी बनाउँनुपर्ने आधारहरु यस्ता छन :-
१ ऐतिहासिक आधार :
वि.सं. १८४० देखि धनकुटा पूर्व क्षेत्रको प्रशासकीय केन्द्रको रुपमा स्थापित भएको हो । शुरुमा धनकुटाबाट पूर्वको केही भाग शासित थियो भने वि.सं. १८८५ देखि यो ठाउँ पूर्वको प्रशासनिक पूर्ण केन्द्रको रुपमा रह्यो । यसैलाई निरन्तरता दिँदै राणा कालीन समयमा धनकुटामा वडाहाकिम कार्यालय रहन गयो । वि.सं. १९४२ देखि धनकुटामा पूर्वका तीन अड्डाहरुको अपिल सुन्ने गरिन्थ्यो ।
नेपाललाई विकास क्षेत्रको अवधारणामा लगे पश्चात धनकुटालाई पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम घोषणा गरियो । धनकुटामा क्षेत्रीय कार्यालयहरु स्थापना गरिए । अहिले समेत धनकुटामा क्षेत्रीय स्तरका कार्यालयहरु रहिरहेको अवस्था रहेको र यसलाई केन्द्र स्वीकार गरिरहेको अवस्था छ । धनकुटाको यो ऐतिहासिक पक्षलाई स्वीकार गरिनु उपयुक्त छ किनभने १६ जिल्लाको भूगोलको प्रशासनिक केन्द्र प्रस्तावित १४ जिल्लाको केन्द्र बन्न झन् स्वभाविक छ ।
२ सामथ्र्य तथा भौतिक पूर्वाधारहरु :
धनकुटा पूर्वाञ्चलको केन्द्रको रुपमा रहेको हुँदा यहाँ भौतिक संरचनाहरु निर्माण भइसकेका छन् ः जिल्लामा सरकारी जग्गा, पर्याप्त रहेको छ । धनकुटालाई राजधानी बनाउने हो भने भौतिक निर्माणका लागि ठूलो खर्च बच्न सक्दछ । हाल देखिएको सामथ्र्यका आधारहरु निम्न अनुसार रहेका छन् ।
ड्ड पर्याप्त सरकारी जमिन: धनकुटा नगरपालिका भित्र नेपाल सरकारको नाममा रहेको खाली जग्गा १७,१५५ रोपनी, नेपाल ट्रष्ट, १९४ रोपनी, कृषि अनुसन्धान केन्द्र पाख्रिवास २०० हेक्टर ।
– पर्याप्त सरकारी कार्यालय तथा भवनहरु: ६५०० रोपनीमा जम्मा ३९४ वटा सरकारी कार्यालयहरु रहेको ।
– प्रदेश सभाका लागि आवश्यक सभाहलहरु ।
– खानेपानी र विद्युतको सुविधा पर्याप्त सुविधा ।
– एयरपोर्ट निर्माणको सम्भावना : धनकुटा नगरपालिका वडा नं. १४ मा सम्भाव्यता अध्ययन पुरा भएको अवस्था ।
– सडक यातायातको पहुँच: पूर्वाञ्चलका सबै जिल्लासँग सडक सञ्जालले छोएको ।
– शैक्षिक संस्थाहरु तथा अनुसन्धान केन्द्र: (स्नातकोत्तर तहसम्म अध्यापन हुने धनकुटा बहुमुखी क्याम्पस, निजामती विद्यालय, पाख्रीवास कृषि अनुसन्धान केन्द्र, सुन्तलाजात अनुसन्धान केन्द्र पारी पात्ले, कृषि प्राविधिक शिक्षालय उत्तरपानी आदि ।)
३ भौगोलिक सुगमता र आधार :
प्रस्तावित पूर्व प्रदेशको क्षेत्रफल २५९०५ वर्ग किलोमिटर छ । जसमध्ये हिमाली जिल्लाहरुले ओघटेको क्षेत्रफल १०४३८ वर्ग कि.मि, पहाडी क्षेत्रले ओघटेको क्षेत्रफल १०७४९ वर्ग कि.मि. र तराई जिल्लाहरुले ओघटेको क्षेत्रफल ४७१८ वर्ग कि.मि रहेको छ ।
धनकुटा पूर्व क्षेत्रको विचमा देखिन्छ । यो जिल्ला पूर्व क्षेत्रमा प्रस्तावित १४ जिल्ला मध्ये ७ वटा जिल्लाहरु (पाँचथर, तेह्रथुम, संखुवासभा, भोजपुर, उदयपुर, सुनसरी र मोरंग) को बिचमा रहेको छ भने बाँकी जिल्लाहरु धनकुटासँग सीमाना जोडिएका जिल्लाहरुसँग जोडिएका छन् । यस क्षेत्रमा हिमाली तीन जिल्ला, पहाडी ८ जिल्ला र तराई ३ जिल्ला रहेका छन् । उदयपूर भित्री मधेश र पहाडी भूभागको सम्मीश्रण हो, यद्यपी यो जिल्लाको पहाडी भूभाग अधिक छ । हिमाल पहाड र तराईको मध्य भागमा रहेको पहाडी भूभागमा प्रशासनीक केन्द्र राख्नु क्षेत्रमा रहेको अत्याधिक पहाडी भूभाग र त्यहाँका वहुसंख्यक समुदायको सम्बोधन हुन सक्दछ ।
धनकुटा, हाल आएर हिजोका दिनहरु (क्षेत्रीय सदरमुकाम मानिएको समय) भन्दा सुगम छ । धनकुटाको मुख्य बजार पूर्व पश्चिम राजमार्गको ईँटहरीबाट ७० किलोमिटर उत्तरमा पर्दछ । तराईका तीन जिल्ला र उदयपूर जिल्लाको धनकुटा आउने मुख्य नाका पूर्व पश्चिम राजमार्ग हो भने बाँकी जिल्लाहरु पहाडी सहज भूभागबाट धनकुटा आइपुग्ने आधारहरु तयार भइसकेको अवस्था छ । ताप्लेजुंग र पाँचथर जिल्ला तमोर कोरिडोर, मध्य पहाडी लोकमार्ग बाट जोडिएका छन् भने इलाम राँके, रवि, भेडेटार सडकबाट जोडिएको छ । भोजपुर र खोटांग, मध्य पहाडी राजमार्गबाट जोडिएका छन् । दुधकोशी नदीमा पुल निर्माण पश्चात सोलु र ओखलढुंगाका बासिन्दा तथा उदयपुरको पश्चिम उत्तर क्षेत्रलाई समेत पहाडी मार्गबाट धनकुटा आउन सहज हुन्छ ।
यस प्रदेशका सबै नागरिकहरु हवाई मार्ग प्रयोग गर्ने क्षमता राख्दैनन् । यसकारण हरेक नागरिकको सडक मार्गको माध्यमबाट धनकुटामा पहुँच स्थापित हुने आधार बनि सकेको हुँदा धनकुटा प्रादेशिक राजधानीको केन्द्र बन्न सक्दछ ।
धनकुटाको हावापानी समेत उपयुक्त छ । यहाँ समशितोष्ण प्रकारको हावापानी छ, यहाँ चिसोमा अत्याधिक चिसो पनि हुँदैन र गर्मीमा अत्याधिक गर्मी समेत हुँदैन । जसका कारण सबै क्षेत्रका बासिन्दाहरुलाई धनकुटाको बसोबास वा आवागमन प्रत्युत्पादक हुँदैन ।
४ सामरिक (सुरक्षा) आधार :
धनकुटा प्रस्तावित प्रदेशको मध्य भागमा रहेको छ । यो शहर कुनै पनि वैदेशिक सीमाना भन्दा टाढा छ । प्राकृतिक प्रकोप वा जोखिम कम रहेको छ । यहाँ सुरक्षा निकायको समेत उपस्थिति भइरहेको हुँदा सामरिक किसिमले पनि धनकुटा उपयुक्त मानिएको छ ।
५ सन्तुलित विकासको आधार : (बसाई सराई नियन्त्रण, सेवा तथा बस्ती विकेन्द्रीकरण, पर्यटन प्रवद्र्धन)
शहर वा मानव वस्ती विस्तार गर्दा कृषि उत्पादन कम हुने क्षेत्रलाई प्राथमिकता दिनु पर्दछ । यो क्षेत्रमा शहर बढाउने हो भने उद्योग धन्दाहरु पहाडी क्षेत्रतिर समेत निर्माण हुनेछन् । जनसंख्या पहाड तर्फ केन्द्रित हुनेछ र पर्यटन प्रवद्र्धन समेत हुनेछ । यदी तराई क्षेत्र तर्फ बस्ती विकास वा विस्तार गर्दै जाने हो भने अझ वढी कृषि योग्य र उत्पादनशील क्षेत्रहरु मानव वस्तीमा रुपान्तरण हुनेछन् । जसले गर्दा मुलुकको कृषि उत्पादन तथा खाद्य सामग्री माथीको परनिर्भरता अझ वढ्दै जान सक्नेछ ।
सन्तुलित विकासको अवधारणालाई अघि सार्ने हो भने हिमाली र पहाडी क्षेत्रको बसाई सराईलाई रोक्नु अनिवार्य छ । बसाई सराई रोक्ने आधार भनेको तत् तत् स्थानमा भौतिक सुविधाहरु उपलब्ध गराउनु हो । नेपालको हाल सम्मको विकासले उपत्यका बाहेक तराई भूभाग केन्द्रित विकासलाई बढावा दिएको देखिन्छ, फलस्वरुप, औद्योगिक विकास, सडक सञ्जाल, शैक्षिक संस्थाहरु, स्वास्थ्य केन्द्रहरु तराइ केन्द्रित हुन पुगे र जनघनत्व समेत तराईको नै वढीरहेको छ ।
पहाडी क्षेत्रको विकास गर्न पहाडी क्षेत्रको सडक सञ्जाल विस्तार गर्ने, शिक्षा, स्वास्थ्य लगायतका सेवाहरुको वृद्धि गर्न अपरिहार्य छ । धनकुटा जिल्लालाई राजधानी बनाउने हो भने यो क्षेत्रले जनसंख्याको खास हिस्सा पहाडी क्षेत्रमा नै रोक्न मद्दत गर्दछ । फलस्वरुप जनसंख्याको वितरण तराइ केन्द्रित हुन बाट रोक्ने आधार निर्माण हुन्छ र सन्तुलित विकासको आधार बलियो हुँदै जान्छ ।
धनकुटा केन्द्रित सडक सञ्जाल सुधार र स्तरोन्नती गर्ने हो भने पहाडी क्षेत्रमा समेत साना शहरहरु स्वभाविक रुपमा विकसित हुनेछन् । जसले गर्दा पर्यटकीय विकासका आधारहरु अझ विकसित हुनेछन् ।
धनकुटामा बन्ने योजनाहरुले पहाडी तथा हिमाली क्षेत्रको विकासको योजनाहरुलाई टेवा पुगेको हुनेछ । किनभने हालसम्मका विकासको बजेटको ठूलो हिस्सा स्थानीय तहको तर्फबाट, संसद विकास कोषको तर्फबाट वा अन्य कुनै ठूला लगानीको दृष्टिकोणबाट तराइ केन्द्रित विकास भएको छ , फलतः तराइक्षेत्रमा दिनानुदिन जनसंख्या बढीरहेको छ । यसर्थ पहाडी क्षेत्रमा जनसंख्या केन्द्रित गर्ने प्रशासनिक केन्द्रहरुको निर्माण गरिनु पर्दछ । जसका लागि प्रदेशको राजधानी मध्यपहाडी भूभागमा राख्नु पर्दछ ।
अन्त्यमा :
धनकुटा जिल्ला पहिचान, भौगोलिक निकटता, भौगोलिक वनावट, समदूरी, हावापानी, भौतिक संरचनाहरु र विकासको सन्तुलनका दृष्टिले पूर्व प्रान्तका लागि उपयुक्त राजधानी बन्न सक्दछ । अरु जिल्लाहरुले धनकुटालाई केन्द्र मानेर अघि बढ्ने हो भने बाँकी पहाडी र हिमाली र तराई भूभागको विकासलाई समेत महत्वपूर्ण टेवा पुग्नेछ ।
यसर्थ प्रदेश नं. १ मा बसोबास गर्ने सबै जाती, समुदायको दिर्घकालीन हितका लागि सबै भन्दा उपयुक्त केन्द्र धनकुटा हुनेछ ।
(२०७२ भदौ १३ गते धनकुटामा भएको कार्यक्रममा स्थानीय शान्ति समितिको तर्फबाट समितिका जिल्ला सदस्य विदुर सुवेदीबाट प्रस्तुत आधारपत्रमा आधारित)