पूर्व राजाका सहयोगी सागर तिमिल्सिनाका अनुसार ज्ञानेन्द्र शाहले बिहिबारको निर्वाचनमा पनि मतदान गरेनन्।

Advertisement

‘पूर्व राजपरिवारका सदस्यहरु विभिन्न ठाउँमा छरिइबक्सेको अवस्था छ, अन्यत्रको बारेमा म भन्न सक्दिनँ, तर निर्मल निवासबाट चाहिँ पूर्व राजपरिवारका कोही पनि मतदानमा सरिक हुने कार्यक्रम छैन’, तिमिल्सिनाले बिहिबार अपरान्ह नेपालखबरसँग भने, ‘सम्भवत पूर्व राजाबाहेक अरुहरुले पनि मतदान गरिबक्सने छैन।’

२०६२र६३ को जनआन्दोलनको बेला शक्तिमा रहेका राजा ज्ञानेन्द्र २०६४ को पहिलो संविधानसभा निर्वाचन हुँदा पनि राजा नै थिए। तर संविधानसभाको पहिलो बैठकले नै राजतन्त्र अन्त्य गर्ने निर्णय गरेपछि उनी नारायणहिटी दरबारबाट बाहिरिएका थिए। त्यसपछि २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने गरी नयाँ संविधान जारी गर्यो।

नयाँ संविधान अन्तर्गत स्थानीय निर्वाचन भएपछि देशमा पहिलो पटक प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भइरहेको छ। पहिलो चरणमा मंसिर १० गते ३२ जिल्ला र बिहिबार दोस्रो चरणमा ४५ जिल्लामा निर्वाचन भइरहेको छ।

गएको तिहारमा ‘आफू अब देशको नेतृत्व गर्न तयार रहेको’ अभिव्यक्ति दिएर फेरि एकपटक चर्चामा आएका पूर्व राजा ज्ञानेन्द्र आफू राजाबाट नागरिकमा परिणत भएपछि स्थानीयसहित तेस्रो निर्वाचनमा पनि मतदानमा सहभागी भएनन्।

पूर्व राजा ज्ञानेन्द्र महाराजगञ्जस्थित निर्मल निवासमा बसोबास गर्दै आएका छन्।र बिहिबार उनी संभवतः निर्मल निवासभित्रैबाट निर्वाचनबारे अपडेट भइरहेका होलान।

पूर्व बडामहारानी कोमल, पूर्व युवराज्ञी हिमानी, पूर्व नवयुवराज हृदयेन्द्र पनि निर्मल निवासमा नै बसोबास गर्छन्। पूर्व युवराज पारस भने बहिनी शीताष्माका साथ इमाडोलमा बस्दै आएका छन्। शीताष्मा पूर्व अधिराजकुमार धीरेन्द्रकी माहिली छोरी हुन्।

पूर्व राजपरिवारका सदस्यका रुपमा रहेका धीरेन्द्रका दुई छोरीहरु पूजा सिंह र दिलाशा सिंह बाँसबारीमा बस्छन् भने पूर्व राजा ज्ञानेन्द्रकी छोरी प्रेरणा भने छाउनीमा बस्छिन्। यसैगरी पूर्व अधिराजकुमारी शोभा कमलादीमा बस्छिन्। उनीहरु कसैलेपनि यो निर्वाचनमा मतदान गर्ने सम्भावना कम रहेको तिमिल्सिना बताउँछन्।

‘राजा सबको साझा भन्ने मान्यता अनुसार पूर्वराजाबाट मतदात हुँदैन, किनभने मतदान गरेपछि एउटाको पक्षमा मत खसाल्नु पर्ने हुन्छ’ तिमिल्सिनाले नेपालखबरसँग भने, ‘यही मान्यताका कारण अहिलेमात्र होइन, पञ्चायतकालमा पनि राजारानी सहित राजपरिवारका कुनै पनि सदस्यले कहिल्यै मतदान गरिबक्सेन।’

गणतन्त्र स्थापना अघि राष्ट्राध्यक्षको भूमिकामा रहेकाले मतदानमा भाग नलिनु स्वभाविक भएपनि गणतन्त्र स्थापना यताचाहिँ पूर्व राजा नागरिकमा परिणत भइसकेका छन्। राष्ट्राध्यक्षको भूमिकामा राष्ट्रपति विद्या भण्डारी छिन्। राष्ट्राध्यक्षको स्वतन्त्र गरिमा स्थापनाका लागि राष्ट्रपतिले पनि मतदान गर्ने छैनन्।

यस्तो अवस्थामा नागरिकको हैसियतमा पूर्व राजाले मतदान गरे हुने हो। तर मुलुकमा गणतन्त्र स्थापना भएर श्रीपेच र नारायणहिटी त्यागेपनि पूर्व राजा ज्ञानेन्द्रले गणतन्त्रको स्वागत भने गरेका छैनन्।

स्रोतका भनाइमा, मुुलुकमा गणतन्त्र आइसकेपनि ज्ञानेन्द्र भने अझै राजतन्त्र पुनस्र्थापना हुने आशमा नै छन्, त्यसैले विगत जस्तै अहिले पनि उनी मतदानको मानसिकतामा छैनन्।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!