काठमाडौं । नेपालमा पाइने चरा प्रजाति ८ सय ८४ पुगेको छ । यसअघि नेपालमा ८ सय ८१ प्रजातिका चरा रहेका थिए । यो वर्ष तीन नयाँ प्रजातिका चरा भेटिएपछि चरा प्रजातिको संख्या वृद्धि भएको हो । सन् २०१६ मा रुफस टेल्ड रक थ्रस, ग्रे साइडेड थ्रस र वेस्ट हिमालयन बुस वाब्लर गरी तीन नयाँ प्रजातिका चरा भेटिएका छन् ।नेपालमा सबैभन्दा बढी चितवनमा ६ सय प्रजातिका चरा पाइन्छन् । कालो गरुड, सेतो गरुड, कृष्णकण्ठ गरुडलगायत २४ प्रजाति लोपोन्मुख अवस्थामा रहेका चरा पनि चितवनमा नै पाइन्छ ।

Advertisement

नेपाल पन्छी संरक्षण संघले नयाँ चराको प्रजाति थप भएको जनाएको छ । नयाँ प्रजातिको चरा पत्ता लगाउनेमा तीन समूहको भूमिका महŒवपूर्ण रहेको संघका कार्यकारी अधिकृत डा. नरेन्द्रबाबु प्रधानले बताए । नेपालमा नयाँ प्रजातिको चरा ‘रुफस टेल्ड रक थ्रस’ चरा पत्ता लगाउन नरेश कुसी नेतृत्वको समूहले अध्ययन गरेको थियो । समूहले उच्च हिमाली क्षेत्रमा चराहरूको अध्ययन गरेको अध्ययनकर्ता कुसीले बताए ।

यसैगरी, ‘ग्रे साइडेड थ्रस’ नामक नयाँ प्रजातिको चरा पत्ता लगाउन सोम जीसी नेतृत्वको समूहले लामो समय अध्ययन गरेको थियो । थप भएको अर्को नयाँ प्रजातिको चरा ‘वेस्ट हिमालयन बुस वाब्लर’ पत्ता लगाउन हठन चौधरी नेतृत्वको समूहले अध्ययन गरेको थियो ।

नेपाल पन्छी संरक्षण संघका प्रमुख कार्यकारी अधिकृत डा. प्रधानले नेपालमा चरा अनुसन्धानलाई अझ प्रभावकारी रूपमा अघि बढाउनुपर्ने बताएका छन् । सिमसार क्षेत्रलाई मुख्य बासस्थानका रूपमा चराहरूले लिने गरेको भन्दै उनले सिमसारको संरक्षण गर्न सके मुलुकमा अझ चराको थप प्रजाति देखापर्ने बताए । ‘नेपालमा आउने घुमन्ते चराहरूले आफ्ना लागि उपयुक्त वातावरण बनेमा उनीहरू स्थायी रूपमा नै नेपालमा बस्न सक्छन्,’ उनले राजधानीसँग भने, ‘नेपालको सिमसार क्षेत्रमा आगन्तुक चराहरू आउने भएकाले सिमसार क्षेत्रको संरक्षण र सुरक्षित वातावरण बनाउन सके हामीले थप नयाँ प्रजातिको चरालाई बास दिन सक्छौं ।’संघले सरकारसँगको सहकार्यमा चराहरूको मुख्य बासस्थान रहेका सिमसार क्षेत्रहरूमा संरक्षणका काम गरिरहेको छ । संघले बर्डलाइफ इन्टरनेसनलसँगको साझेदारीमा  गिद्ध, खरमजुरजस्ता लोपोन्मुख, अति संकटासन्न तथा दुर्लभ चराको वैज्ञानिक अध्ययन तथा संरक्षणका क्षेत्रमा काम गरिरहेको छ । चरा र जैविक विविधताको संरक्षणमा सन् १९८२ देखि संघले निरन्तर काम गर्दै आएको छ । संघले पछिल्लो समयमा गिद्धलाई सुरक्षित प्राकृतिक बासस्थानमा पुनःस्थापना गर्ने काम सुरु गरेको छ । चितवन राष्ट्रिय निकुञ्जमा रहेको गिद्ध संरक्षण तथा प्रजनन केन्द्रमा हुर्काइएका प्रजननयोग्य गिद्धलाई सुरक्षित प्राकृतिक बासस्थानमा पुनःस्थापना गर्न सुरुवात गरेको गिद्ध संरक्षण कार्यक्रम अधिकृत कृष्ण भुसालले जानकारी दिए ।

पर्यटकको आकर्षणमा पर्ने चराहरूको बथान मनमोहक हुने गर्छ । कोसौं दूरी पार गरेर साइबेरियाबाट लोभलाग्दा ‘चखेवा’ नेपाल भित्रिएका छन् । जाडोयाममा साइबेरिया, अस्ट्रेलियाजस्ता देशमा हिउँ पर्ने हुनाले चरा आहार खोज्दै नेपाल आउँछन् । यहाँका नदी, ताल, तलैया र खेतमा अहिले यस्ता पन्छी देख्न सकिन्छ । तिनका लागि मुलुकको यो मौसम बासस्थान र आहारका लागि उपयुक्त हुने गरेको छ । ६ महिना ती चरा यहाँ रमाउँछन् । गर्मी लागेपछि आफ्नै मुलुक फर्कन्छन् ।

संघका अनुसार उत्तरी तिब्बत, चीन, मंगोलिया, साइबेरिया, काजकिस्तानलगायत पूर्वी युरोपबाट समेत चरा नेपालमा आउँछन् । यसरी आउनेमा जलपन्छीको संख्या बढी छ । घाँसे मैदान, रूखको बासस्थान रोज्दै चराहरू जाडो सुरु हुनासाथ बसाइँ सरेर नेपाल आउँछन् ।

सरकारले बिहीबार विश्व सिमसार दिवस मनाएको थियो । ‘प्रकोप जोखिम न्यूनीकरणका लागि सिमसार’ भन्ने नाराका साथ मनाइएको दिवसमा वन तथा भू–संरक्षणमन्त्री शंकर भण्डारीले सिमसारको संरक्षण र व्यवस्थापन गरी  विपद्जन्य जोखिमहरूलाई न्यूनीकरण गर्दै सिमसारजन्य स्रोतको दिगो उपयोग गरी आमजनताको जीविकोपार्जनमा टेवा पु¥याउने कायक्रम सञ्चालन गर्नुपर्ने बताए । उनले विपद्जन्य न्यूनीकरण गर्न सम्पूर्ण सरकारी निकाय, गैरसरकारी संघसंस्था, निजी क्षेत्रलाई अनुरोध गरेका छन् ।

विश्वव्यापी रूपमा सिमसार क्षेत्रको संरक्षण, संवद्र्धन र विकासका साथै त्यस्ता क्षेत्रको बुद्धिमतापूर्ण उपयोग गरी अर्थिक, सामाजिक एवं सांस्कृतिक विकासमा टेवा पु¥याउन इरानको रामसार सहरमा २ फेब्रुअरी १९७१ मा सिमसारसम्बन्धी ‘रामसार महासन्धि’ भएपछि नेपालले सन् १९९७ देखि यस महासन्धिमा हस्ताक्षर गरेको थियो । दिवसका अवसरमा राष्ट्रिय प्रकृति संरक्षण कोषले अन्य संस्थाको सहकार्यमा विपद् प्रकोप न्यूनीकरणका लागि विद्यालयस्तरीय निबन्ध प्रतियोगिता गरेको थियो । शबिन बर्माले राजधानीमा समाचार लेखेका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!