त्रिभुवन विश्वविद्यालय अन्तरगतका धेरै क्याम्पसहरुमा बुधबारका लागि तय भएको चुनाव नहुने भएको छ । विद्यार्थी संगठनहरुको आन्तरिक तालाबन्दीका कारण उम्मेदवारी नै नपरेपछि राजधानीका प्रमुख क्याम्पसमा चुनाव नहुने अवस्था छ ।

त्रिवि शिक्षाध्यक्ष सुधा त्रिपाठीले भने भोलि चुनाव नहुने क्याम्पसहरुमा अब फेरि चुनाव नहुने बताउँछिन् । स्ववियु चुनावको तयारीमा लाग्दा दुई महिनादेखि कार्यालयको काम प्रभावित भएको भन्दै उनले अब यसमा अलमलिन नसक्ने बताइन् ।

Advertisement

निर्वाचनबारे केन्द्रित रहेर शिक्षाध्यक्ष त्रिपाठीसँग अनलाइनखबरले गरेको कुराकानीको संक्षेपः

चुनावी प्रक्रिया सुरु नभएका क्याम्पसहरुमा अब कहिले निर्वाचन हुन्छ ?

त्रिभुवन विश्वविद्यालयले अब फागुन १८ पछि दुई वर्षसम्म स्ववियु निर्वाचनमा समन्वय गर्दै-गर्दैन । विद्यार्थी संगठन र क्याम्पसले आन्तरिक समझदारीमा चुनाव गराउन सक्छन् । त्यसैले विद्यार्थी संगठनहरुले भोलिसम्ममा निर्वाचन गराउनुपर्छ ।

कतिवटा क्याम्पसमा चुनाव हुँदै छ ?

त्रिभुवन विश्वविद्यालयको ६० वटा आंगिक क्याम्पसहरुमध्ये २४ वटामा भोलि निर्वाचन हुँदै छ ।

बाँकी क्याम्पसका प्रशासन १८ गतेपछि निर्वाचन गराउन बाध्य हुन्छ कि हुँदैन ?

फागुन १८ गतेसम्म बाध्य हुनुपर्छ । १८ गते पनि निर्वाचन भएन र त्यसपछि विद्यार्थीलाई चुनाव चाहियो भने उनीहरुले नै अनुरोध गरेर चुनाव गर्न सक्छन् । अब हामी समन्वय गर्दैनौं ।

विश्वविद्यालय आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेको हो ?

होइन, हामीले स्ववियु निर्वाचन गरौं भनेर दुई महिनादेखि विद्यार्थीसँग छलफल गर्दै आयौं । तर, विद्यार्थी संगठनहरु कहिले सहमतिमा आउने देखिएनन् । विद्यार्थी संगठनका कुरै नबुझिँदो रहेछ । अब यो लफडामा लागिरहन्नौं ।

त्यस्तो के समस्या देख्नुभो विद्यार्थी संगठनहरुमा ?

मुख्य त विद्यार्थी नेताहरुमा इमानदारीको अभाव देखेकी छु । त्यही कारण अहिले निर्वाचन गराउन समस्या देखिएको हो ।

यसबाहेक विभिन्न क्याम्पसमा फरक-फरक समस्या देखिएका छन् । कतै भर्नाको समस्या देखिएको छ भने कतै संगठनहरुकै आन्तरिक विवादको कारण निर्वाचनमा अवरोध गरिरहेका छन् । एक किसिमले यसलाई बेइमानी भन्न मिल्ला । विद्यार्थी संगठनहरुको आन्तरिक झगडाले त्रिविलाई हैरानी भयो ।

विद्यार्थी संगठनहरु के भन्छन् ?

हामीले सुरुमा सबै दलका विद्यार्थी संगठनलाई राखेर आचारसंहिताबारे छलफल गर्‍यौं । सबै संगठनको सहमतिमा ल्याइएको आचारसंहितामा अहिले आएर तिनै विद्यार्थी नेताहरु प्रश्न उठाइरहेका छन् । निर्वाचन कार्यतालिकामा पनि त्यस्तै स्थिति देखियो । भोलिका देशका नेता भनिएका विद्यार्थी नेताहरुमा परिपक्वता देखिएन । अगाडि सहमति र हस्ताक्षर गर्ने अनि पछि विरोध गर्दै विद्यार्थी उचाल्ने विद्यार्थी नेताहरुको शैली अचम्मलाग्दो छ ।

सबैभन्दा बढी कुन संगठनमा कस्तो समस्या देखिएको छ ?

सुरुमा विप्लव समूहका विद्यार्थीले देशभरका क्याम्पसमा तालाबन्दी गदर्ैै चुनावको मिति सार्न माग गरेका थिए । अन्य विद्यार्थी संगठनको पनि आग्रह अनुसार फागुन १४ को निर्वाचन १८ गते सारिएको हो । त्योभन्दा पछाडि सार्दा एमालेको मेची-काली अभियान प्रभावित हुने भएकोले उपयुक्त देखिएन ।

अहिले विप्लव समूहका विद्यार्थीले केही ठाउँमा मात्रै अवरोध गरेका छन् । धेरै समस्या देखिएको नेविसंघ र त्यसपछि अनेरास्ववियुमा हो । क्याम्पस प्रमुखहरुले यी संगठनका नेताहरु मिडियामा एकथरी भाषण गर्दै हिँडेको र हामीलाई असहयोग गरको गुनासो गरिरहेका छन् ।

नेविसंघमा देखिएको समस्या के हो ?

पहिलो समस्या उमेर हदको हो । उनीहरुले २८ वर्षे उमेरहद लागू नगराउन खोजे पनि सकेनन् । नेविसंघ अध्यक्ष नैनसिंह महरले आन्तरिक समस्या समाधान गर्न धेरै कोसिस गरे पनि सकेनन् । अहिले त्यसको प्रतिक्रिया ठाउँ-ठाउँमा देखिएको छ ।

एमाले निकट अखिलको चाहिँ ?

उनीहरु पनि अन्तरद्वन्द्वमा फसेका छन् । आन्तरिक झगडा बाहिर छताछुल्ल भएपछि विवाद बढेको छ ।

यो सबै अवस्था हेरेपछि तपाईंहरुको निष्कर्ष के हो ?

अब विद्यार्थी संगठनलाई मिलाएर निर्वाचन गराउन सकिँदैन । तोकिएको मितिमा जति निर्वाचन हुन्छ, त्यो सकेर बाँकी नगर्ने भन्ने नै हो । स्ववियु निर्वाचनका लागि दुई महिना पूरै बिताइसकेपछि पनि सहमति हुँदैन र निर्वाचन हुँदैन भने अब हामी चिन्ता गर्दैनौं । यो चुनावमा लाग्दा हाम्रा अरु काम रोकिएका छन् । अब त्यतातिर लाग्छौं ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!