- सुरेन्द्र पौडेल
सुरेन्द्र पौडेल

विकास र समृद्धी नेपालले देखेको निकै पुरानो सपना हो । यो सपना पुरा गर्न मोहन शम्सेरले स्विट्जरल्याण्डबाट बहुविषयका ज्ञाताहरुलाई नेपाल झिकाए । भूगर्भविद् टोनी हागन तिनै ज्ञाताहरु मध्ये एक थिए, जसले नेपालको विकासको रुप रेखा (योजना) तयार गरे । योजना बनाइसकेपछि पनि राष्ट्रसंघ, नेपाल सरकार र मानवीय सहायता प्रदान गर्ने अन्तर्राष्ट्रिय संस्थाका कर्मचारीको हैसियतमा हागन धेरै समयसम्म नेपालमा बसे । सबै काम सकियो तर नेपालसंगको उनको नाता जीवनपर्यन्त प्रगाढ रहयो ।

हवाइ र पैदल दुवै मार्गबाट करीव-करीव सबै नेपाली भूगोल छिचोलेका हागनले नेपाललाई विश्वसामु  चिनाउन धेरै वृत्त चित्र बनाए । धेरै पुस्तक लेखे । बिदेशीले नभै नेपालीले नै पढून् भनेर विकेन्द्रीकरण र विकास: प्रजातन्त्रिक सिध्दान्तको भूमिका भन्ने पुस्तक लेखे । पुस्तकमा हागनले अलिकति इतिहास, विकासका काम, प्रजातन्त्रका समस्या र गरीवी निवारण जस्ता विषयमा उल्लेख गरेका छन् । यसका साथै उनले स्विटजरल्याण्डको सफलताको रहस्य, पर्यटन विकास, जलविद्युत र सडक यातायात जस्ता क्षेत्रमा नेपाल र स्विटजरल्याण्डको तुलनात्मक अध्ययन पनि प्रस्तुत गरेका छन् ।

हागन सबैभन्दा तल्लो तहलाई धेरै अधिकार दिनु पर्ने पक्षमा थिए । “यसो गर्दा जनताले आफ्नो भाग्य आफै बनाउन पाउछन् र स्थानीय तहमा अधिकार उपयोग गरेर खारिएका प्रतिनिधि बिस्तारै माथिल्लो तहमा जान पाउँछन् । त्यतिबेलासम्ममा उनीहरु सरकार चलाउन दक्ष भैसकेका हुन्छन्” भनेर उनी भन्छन् ।

हागनले नेपालका लागि उपयुक्त हुनेखालको विकास अवधारणा पनि प्रस्तुत गरेका थिए । उनले लेखेका छन्, “दिगोबिकासले आधारभूत आवस्यक्ताको परिपुर्ति गर्दछ तर केन्द्रीकृत संरचनाले त्यसमा व्यवधान उत्पन्न गर्छ ।” स्थानीय तह जनप्रतिनिधिविहिन बनेको झण्डै बीस वर्षमा नेपालमा विकासका नाममा जे जस्तो अवस्था सृजना भएको छ, त्यसले हागनको भनाइलाई सही सावित गरेको छ ।

हागन विकास आफै गर्नुपर्छ भन्थे । त्यसैले जलस्रोतको विकास गर्दा पहिले साना आयोजना चलाएको अनुभवका आधारमा विस्तारै ठूला आयोजनामा हात हाल्नुपर्छ भन्थे । यसो नगरी ठूला आयोजना बनाउन खोज्दा सबै काम बिदेशीका भरमा गर्नुपर्छ जुन लाभदायक छैन भनी उनी ठान्थे ।

पहाडी भेगमा अहिले जसरी सडक बनिरहेका छन् त्यो उपयुक्त छैन भन्ने कुरामा उनी दृढ थिए । यस्तो खालको बाटोले विनास मात्र निम्त्याउने उनको तर्क थियो । उनी नगरकोट जस्ता ठाउँमा पर्यटकलाई पुर्याउन फन्फन्ती घुम्ने सडक होइन, रोपवेको पक्षमा थिए । जहाँ सडक नबनाई हुदैन त्यहाँ पनि वातावरणलाई कम क्षति पुग्ने तरीकाले बनाउनु पर्ने उनको मत थियो ।

हागनले कृषि र पर्यटन विकासलाई नेपालको विकासको एउटा महत्वपूर्ण अंग मानेका छन् । तर यसबाट स्थानीय स्तरमा फाइदा लिनुपर्ने कुरामा उनले जोड दिएका छन् । यसका लागि पनि उदाहरण खोज्न अन्त जानु पर्दैन । हागनले हिमाली क्षेत्रमा घाँस र दानाको प्रबन्ध नगरी पशुपालन व्यवसाय नफस्टाउने बताए, तर हिमाली क्षेत्रमा पशुपालन ब्यवसाय चलीरहनुको कारण बारे उनले लामो रिसर्च नै गरेका छन् । हागनको टोलीले सिफारिस गरेको एउटा काम थियो रसुवा जिल्लाका लाङटाङ र गोसाइकुण्ड क्षेत्रमा चौरीको दुधबाट चीज बनाउन थाल्नु । पछि स्विसहरुकै सहयोगमा यी ठाउँमा चीज कारखाना बने । विस्तारै लाङटाङमा धेरै पर्यटक जान थाले । उनीहरु त्याहाँबाट फर्कदा आफन्तहरुलाई चीज किनेर कोसेली लगिदिन थाले ।

हागनले नेपालमा भारतीय भूमिकाको पनि आलोचना गरेका रहेछन्, उनले एक ठाउँमा लेखेका छन् “उनीहरु (भारतियहरु) ले भित्रैबाट अस्थिर बनाएर आफूले चाहेको सासन स्थापित गराउन खोजे…..भारतीय राजनीतिज्ञले झट्ट नदेखिने खालका सुक्ष्म हतियार प्रयोग गरे (जो उनीहरु अहिले पनि गरिरहेका छन्) ।” तर उनको भनाइको मर्म चाँहि ‘हामी नेपालीले आफूले गर्नुपर्ने काम, जसरी गर्नु पर्ने हो त्यसरी गरेका छैनौं भन्ने नै हो । समृद्धीको सपना पुरा गर्न राजनीतिक संरचना असाध्यै महत्वपूर्ण हुन्छ भनी हागनले पटक पटक दोहोर्याएका छन् । स्विटजरल्याण्डमा कुन कुरा प्रसंसा गर्न योग्य छ भन्ने विषयमा उनी भन्ने गर्थे, ” मेरो देशका ठूला बाँध, राजमार्ग र अत्याधुनिक उद्योगहरु नभई जनताको पूर्ण सहभागिता रहने संघीय संरचनाको प्रसंसा गर्ने अवस्थामा छु ।”

स्विटजरल्याण्ड बन्ने सपना देखेको यति लामो समयसम्म पनि नेपाल खासै अगाडि बढेन । हागनले प्रसंसा गरेको उनको देशको जस्तो संघीय संरचना नहुनु यसको एउटा कारण हो भने हामी आशावादी हुने ठाँउ अझै बाँकि छ ।

नेपाल र नेपालीसँग लामो समय संगत गरेका हागन नेपाल प्रति आशावादी थिए । उनले एक ठाँउमा लखेका छन् “मलाई शिक्षित नेपाली युवाहरुप्रति ठूलो भरोसा छ ।” आशा गरौं हागनले भरोसा गरेका हामी शिक्षित नेपाली युवाहरुले हागनका धेरै कुरा पढौं, उनका कुराहरुको बिश्लेषण गरी समृद्धीको उपयुक्त बाटोमा अघि बढौं, । संघियताको अभ्यास गर्न लागेको अनि पुरानो भुईँबाट फड्किन खुट्टा उचालेको समाजलाई सही दिशा प्रदान गरौं । हागनले नेपालीलाई लगाएको सच्चा गुन त्यही हुने छ ।

           लेखक नेकपा एमाले धनकुटाका सचिव हुन।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!