
धनकुटा । श्रीमतीमाथि खुकुरी प्रहार गरेर भागेका धनकुटा नगरपालिका-६ पाङसिङका डम्बर बहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । घटनापछि भाग्दै गरेको अवस्थामा धनकुटा-६ गोलाइबाट प्रहरीले ४९ वर्षीय कार्कीलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार घरायसी विवादका क्रममा कार्कीले मादक पदार्थ सेवन गरेर श्रीमती ४५ वर्षीया तारा बस्नेत कार्कीमाथि आज दिउँसो करिब १२ बजे खुकुरी प्रहार गरेका थिए । आक्रमणबाट ताराको बाया हातको कान्छी औँला काटिएको छ । टाउको र घुच्चुकमा पनि चोट छ ।
श्रीमतीमाथि आक्रमण गरेर भागेका कार्कीलाई खोजतलास गर्ने क्रममा दिउँसो करिब २ः४५ बजे पक्राउ गरिएको धनकुटाका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक पाण्डव राजवंशीले जानकारी दिए ।
कार्कीलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको छ ।
घाइते ताराको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । धनकुटा जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि उनलाई धरान पठाइएको हो । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 
























