
विराटनगर । विराटनगरमा बृहत्तर खानेपानी परियोजना सम्पन्न भएपछि पानी वितरणको तयारी अन्तिम चरणमा पुगेको छ । अब विराटनगरवासीले दशैँअघि नै नयाँ प्रणालीमार्फत दैनिक एक करोड लिटरभन्दा बढी खानेपानी पाउने छन् ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को करिब २ अर्ब ५४ करोड रुपैयाँ अनुदानमा सञ्चालित परियोजनाको मुख्य निर्माण कार्य सम्पन्न भइसकेको नेपाल खानेपानी संस्थान विराटनगरले जनाएको छ । परियोजना हस्तान्तरण हुन अब केही दिन मात्र बाँकी रहेको संस्थानले जनाएको छ ।
परियोजनाको निर्माण अवधि सन् २०२६ अक्टोबरसम्म तोकिएको भएपनि अधिकांश निर्माण कार्य निर्धारित समयभन्दा अगाडि नै सम्पन्न भएको छ ।
अहिले विद्युत् जडानलगायत केही प्राविधिक काम मात्र बाँकी रहेको र ती काम पनि तत्काल सम्पन्न गरेर दशैँअघि नै नयाँ प्रणाली सञ्चालनमा ल्याउने तयारी भइरहेको नेपाल खानेपानी संस्थान विराटनगरका प्रमुख सन्तोष रौनियारले बताए ।
परियोजना सञ्चालनमा आएपछि विराटनगरको खानेपानी उत्पादन तथा वितरण क्षमता उल्लेख्य रूपमा बढ्नेछ । अहिले दैनिक करिब ९० लाख लिटर पानी वितरण हुँदै आएकोमा नयाँ प्रणाली सञ्चालनमा आएपछि दैनिक एक करोड लिटरभन्दा बढी पानी वितरण गर्न सकिने संस्थानले जनाएको छ ।
परियोजनाअन्तर्गत खानेपानी उत्पादन, प्रशोधन र वितरण प्रणालीको क्षमता विस्तार गरिएको छ । पुराना संरचनाको सुधारसँगै नयाँ ओभरहेड ट्यांकी निर्माण, पाइपलाइन विस्तार तथा विद्युत् आपूर्ति क्षमता वृद्धि गरिएको छ ।
विराटनगरका देवकोटा चोक, तीनपैनी, मुनालपथ तथा विराटनगर-५ को कोचाखाल पश्चिममा रहेका संरचनाबाट खानेपानी वितरण गर्ने व्यवस्था मिलाइएको छ । कोचाखाल पश्चिममा परियोजनाअन्तर्गत नयाँ ओभरहेड ट्यांकी निर्माण गरिएको छ ।
पाइपलाइन र फिल्टर प्रणालीको क्षमता विस्तारसँगै खानेपानी वितरणमा देखिँदै आएको समस्या कम हुने र उपभोक्ताले नियमित तथा गुणस्तरीय पानी पाउने अपेक्षा गरिएको रौनियारले बताए । हाल विराटनगरमा नेपाल खानेपानी संस्थानका करिब १३ हजार २ सय ग्राहक छन् ।
मेयर नागेश कोइरालाले सन् २०२६ सम्म विराटनगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए । परियोजना निर्माणका क्रममा आवश्यक जग्गा उपलब्ध गराउन सहजीकरणदेखि सडक र विद्युत् पूर्वाधार व्यवस्थापनसम्मका काममा महानगरपालिकाले सहजीकरण गरेको थियो ।
मेयर कोइरालाले परियोजना सफल बनाउन निकै मेहनतका साथ काम भएको र सम्पन्न हुँदा धेरै खुसी लागेको बताए । लामो समयदेखि खानेपानीको पर्याप्तता, नियमितता र गुणस्तरको समस्या झेल्दै आएका विराटनगरवासीका लागि परियोजना सञ्चालनसँगै ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ । अशुद्ध खानेपानीकै कारण विगतमा विराटनगरमा जन्डिस फैलिएको थियो । जन्डिसका कारण १४ जनाको मृत्युसमेत भएको थियो ।

संगालोखबर 




















