
धनकुटा । धनकुटामा एकदेखि पाँच वर्ष उमेर समूहका बालबालिकाहरूलाई स्वर्ण विन्दु प्राशन गराउन सुरु गरिएको छ । आज एक कार्यक्रमको आयोजना गरेर जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटाले पुष्य नक्षत्रको अवसर पारेर स्वर्ण विन्दु प्राशन सुरु गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रमणि पराजुलीले स्वर्ण विन्दु प्राशनको शुभारम्भ गरेका हुन् ।
धनकुटामा स्वर्ण विन्दु प्राशन पहिलोपटक सुरुवात गरिएको र महिनाको पुष्य नक्षत्रका दिन बालबालिकालाई स्वर्ण विन्दु प्राशन गराइने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटाकी प्रमुख डा. विद्या श्रेष्ठले जानकारी दिइन् ।

उनका अनुसार आयुर्वेदिक मान्यता अनुसार स्वर्ण विन्दु प्राशनले बालबालिकाको शारीरिक तथा मानसिक विकास, स्मरण शक्ति र रोग प्रतिरोधात्मक क्षमता विकासमा सहयोग पु¥याउँछ ।
सुनको भस्म, मह र घिउको मिश्रणबाट तयार हुने स्वर्ण विन्दु प्राशन गराइने उनले बताइन् । करिब ५ हजार वर्ष पुरानो काश्यप संहितामा समेत स्वर्ण विन्दु प्राशनको विधि उल्लेख रहेको आयुर्वेद चिकित्सकको भनाइ छ ।
धनकुटामा पहिलोपटक सञ्चालन गरिएको कार्यक्रममा हालसम्म १५० जना बालबालिका स्वर्ण विन्दु प्राशनका लागि दर्ता भएका केन्द्रले जनाएको छ ।

सन्तोष सुवेदी/संगालोखबर 




















