सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटामा साप्ताहिक रूपमा बिहीबारे हटिया लाग्दछ । तल्लो र माथिल्लो कोप्चे छेउमा लाग्ने बिहीबारे हटिया भर्न छिमेकी पालिकाबाट समेत मानिसहरू आउँछन् । यो हटिया विशेष गरेर महिलाहरूले नै धानेका छन् ।

करेसा बारीमा सिजन अनुसार उत्पादन भएका सागसब्जी, फलफूल, खाद्यान्न तथा सालको पात, दाउरा लगायत बेच्न महिलाहरूनै हटिया आउने गरेका छन् । ११ वर्षको उमेरदेखि हटिया आउन थालेकी थाममती राई अहिले ८२ वर्षकी भइन् ।

धनकुटा नगरपालिका-५ खनियाँबासकी राई हटिया सामान बेचेको पैसाले घरखर्च चलाउने गरेको सुनाइन् । यसैबाट खानलाउन साथै बिरामी हुँदा औषधी उपचार समेत गर्दै आएको उनले बताइन् ।

बुढ्यौली र शारीरिक समस्याका कारण बाध्यता पर्दा मात्रै हाट आउने गरेको उनको भनाइ छ । उनी छिमेकीको साथमा हटिया आएर आफूले उत्पादन गरेको सामान बेच्छिन् । ‘भएको एक्लो छोरो बितेपछि जीविकोपार्जनका लागि हाट आउन बाध्यता छ’, उनले भनिन् ।

सिजन अनुसारको उत्पादन बिक्री गर्न बिहीबारे हटिया नियमित आउने गरेको सहिदभूमि गाउँपालिकास्थित छिन्ताङकी रामकुमारी राईले बताइन् । उनी बिहीबारे हाट आउन थालेको करिब ४० वर्ष भयो ।

‘४० वर्षदेखि हाटबजार गरेर घर खर्च चलाउँदै आएको छु’, उनले भनिन्, ‘खेतबारीमा उत्पादन हुने फलफूल, तरकारी लगायतका सामग्री साप्ताहिक र पाक्षिक रूपमा लाग्ने ग्रामीण हाटबजार पुगेर बिक्री गर्ने गरेकी छु ।’ उनी बिहीबारे हाटसहित महिनामा चार स्थानमा लाग्ने हाटमा पुग्छिन् ।

यस्तै आँखिसल्लाकी धनकुमारी राई पनि यस्तै कथा सुनाउँछिन्  । आफूले १७ वर्षदेखि डोको, डालो, मुडा, खुँगी, कुचो लगायत बाँसबाट बनेका घरेलु सामग्री बिक्री गर्न थालेको उनको भनाइ छ ।

धनकुटा बसपार्कमा धुन बाँस हस्तकला उद्योग सञ्चालन गर्दै आएकी उनी बिहीबारे लगायतका हटियामा पुगेर सामान बेच्छिन् । धनकुटा-८ की स्थानीय जुकमाया आठपहरिया पनि करेसा बारीमा उत्पादन गरेको दाल, सिमी, गेडागुडी र फलफूल लिएर हाट आउँछिन् ।

उनले आफ्नै घरमा आठपहरिया पोसाक उत्पादन गर्ने गरेकी छिन् । खाँडी उद्योगका कपडा र ग्राहकले अर्डर गरेका सामग्री पनि हाटमै ल्याएर बिक्री गर्ने गरेको उनले सुनाइन् । अधिकांशले गाउँघरमा उत्पादन भएका सामान हटियामा ल्याएर बेच्ने तथा फर्कँदा आवश्यक सामान किनेर फर्कने गरेका छन् ।

बिहीबारे हटियामा तरकारी र अचारका लागि प्रयोग हुने बाँसको तामा, चोयाको डोको, चुरा-पोते, टोपी, तरकारी, दाल, फलफूलदेखि स्थानीय धानको चामल लगायतका सामान बिक्री गर्ने ८० प्रतिशतभन्दा बढी महिलाहरू नै छन् ।

शहरी उपभोक्तालाई गाउँघरमा उत्पादन भएका ताजा, रैथाने वस्तु छनोट गरेर किन्ने अवसर पनि हटियाले दिएको छ । पहिला छिन्ताङबाट बिहीबारे हाट आउन अघिल्लो दिन नै ढाकरमा सामान बोकेर हिँड्नुपर्ने बाध्यता थियो । तर अहिले यातायातका साधन चल्न थोलेपछि सहज भएको रामकुमारी राईले बताइन् ।

गाउँ-गाउँ र टोल-टोलसम्म मोटरबाटो पुगेपछि सामान ओसार-पसार र आवत-जावत निकै सहज भएको उनको भनाइ छ । ‘पहिला जस्तो भात न पानी भएर भारी बोकेर हाट आउनु पर्ने बाध्यता हटेको छ’, उनले भनिन्, ‘गाडी गाउँ-गाउँसम्म पुग्दा सहज भएको छ ।’

हाटबजारले घरभित्रको अर्थतन्त्र मात्रै चलायमान नभई सामाजिक अन्तरघुलनसमेत विस्तार गरेको छ । धनकुटामा कोशी प्रदेशका अधिकांश जिल्लाबाट शैक्षिक अध्ययनका लागि विद्यार्थीहरू आउने गरेका छन् ।

साथै सरकारी कार्यालय र बजारमा बस्नेहरूले पनि बिहीबारे हटियामा ल्याएको तरकारी, सागसब्जी तथा खाद्यान्न खरिद गर्छन् । धनकुटाको माथिल्लो चिसो भू-भागदेखी अत्याधिक गर्मी रहेको मुलघाटसम्मको स्थानीय उत्पादन बिहीबारे हटियामा ल्याएर बेच्ने गरिएको छ ।

धनकुटा सदरमुकाममा लाग्ने बिहीबारे हाटको इतिहास १ सय ४ वर्ष पुरानो रहेको पाइन्छ । वि.सं. १९७० सालमा खलङ्गाका रूपमा रहेको धनकुटामा रहेका सिपाहीका लागि रासनपानी जुटाउने उद्देश्यले हाट सुरु बताइन्छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!