
विराटनगर । नेपाल पत्रकार महासंघ मोरङ शाखाले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा तीन जना अग्रज पत्रकारलाई सम्मान गरेको छ । महासंघले पत्रकारहरू केदार चौहान, केदार रिजाल र ज्योति शर्मालाई सम्मान गरेको हो ।
उनीहरूलाई कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्ग, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कमल रिमाल, प्रदेश अध्यक्ष भरत खड्का लगायतले उनीहरूलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
महासंघ मोरङले ६० वर्ष नाघेका अग्रज पत्रकारहरूलाई हरेक वर्ष विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सम्मान गर्दै आएको छ ।

कार्यक्रममा प्रदेश प्रमुख खापुङले समाजलाई परिवर्तन गरी मुलुकको विकासमा योगदान पुर्याउन सञ्चारकर्मीहरूको काँधमा ठूलो जिम्मेवारी रहेको बताए । उनले सत्यतथ्यका आधारमा समाचार सम्प्रेषण गर्न आग्रह गर्दै प्रजातन्त्र, लोकतन्त्र र मानव अधिकारको संरक्षणमा सञ्चारकर्मीले योगदान पुर्याउनु पर्नेमा जोड दिए ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले पत्रकारिता जिम्मेवारीपूर्ण पेशा भएकोले मुलुकमा शान्ति सुरक्षा एवं सद्भाव कायम महत्वपूर्ण योगदान पुर्याएको बताए ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कमल रिमाल र कोशीका अध्यक्ष भरतबहादुर खड्काले सञ्चारकर्मीको कलमको कारण लोकतन्त्र एवं गणतन्त्रलाई संस्थागत गर्न सहयोग पुगेको विचार व्यक्त गरे । सोही अवसरमा महासंघ मोरङले आँखा शिविर समेत आयोजना गरेको थियो ।

संगालोखबर 























