
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-४ स्थित लोहन्द्रा खोलामा भइरहेको उत्खननको समाचार संकलन गर्न पुगेका पत्रकारहरूमाथि ज्यान मार्ने धम्की र दुर्व्यवहार भएको घटनाप्रति नेपाल पत्रकार महासंघ मोरङले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आज एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघले वैशाख १५ गते समाचार संकलनका लागि पुगेका पत्रकारहरूमाथि ज्यान मार्ने सम्मको धम्की दिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
महासंघका कार्यसमिति सदस्य डुमरलाल मेहता, सदस्य मोहन ढकाल, सन्तोष मेहतासहित पत्रकारहरू नगेन्द्र खड्का, प्रवेश तिम्सिना, ब्रम्हदेव महतो र दीपेन्द्रकुमार साहलाई उत्खननमा संलग्न व्यक्तिहरूले पुनः समाचार संकलन गर्न आए ज्यान मार्ने धम्की दिएको विज्ञप्तिमा उल्लेख छ । महासंघले यो घटनालाई प्रेस स्वतन्त्रतामाथिको ठाडो आक्रमण भन्दै यसको घोर निन्दा गरेको छ ।
विज्ञप्तिमा पत्रकारको सुरक्षाको प्रत्याभूति दिनुपर्ने जिम्मेवारी बोकेका जनप्रतिनिधिले नै उल्टै उत्खननकर्ताकै शैलीमा पत्रकारलाई धम्की दिनु र भविष्यमा रिपोर्टिङका लागि नआउन चेतावनी दिनु लोकतान्त्रिक मूल्यमान्यता र अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध भएको ठहर गरिएको छ ।
गाउँपालिका अध्यक्ष नमोनारायण माझीबाट भएको यस्तो व्यवहारले पत्रकारको पेसागत सुरक्षा मात्र नभई आम नागरिकको सूचना पाउने हक समेत खोसिएको महासंघको निष्कर्ष छ ।
सचिव नेत्र पी अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा धम्की दिने व्यक्तिहरूलाई तत्काल पहिचान गरी कानूनी कारबाही गर्न, घटनामा संलग्न जनप्रतिनिधिको भूमिकाबारे निष्पक्ष छानबिन गर्न र पत्रकारलाई निर्भीक रूपमा काम गर्ने वातावरण मिलाउन सम्बन्धित निकायसँग जोडदार माग गरिएको छ ।


संगालोखबर 























