
विराटनगर । जथाभावी उत्खनन गरी नदीजन्य सामग्री चोरी निकासी भइरहेको विषयमा समाचार संकलन गर्न ग्रामथान पुगेका मोरङका पत्रकारहरूलाई उत्खननकर्ताहरूले ज्यान मार्नेसम्मको धम्की दिएको घटनाविरुद्ध प्रशासनलाई ज्ञापनपत्र बुझाइएको छ ।
नेपाल पत्रकार महासंघका कोशी प्रदेश र मोरङ शाखाका प्रतिनिधिसहितको टोलीले आज जिल्ला प्रशासन कार्यालय, मोरङमा ज्ञापनपत्र बुझाउँदै पत्रकारहरूको सुरक्षाका विषयमा गम्भीरतापूर्वक ध्यान दिन आग्रह गरेको हो ।
समाचारलाई लिएर असन्तुष्टि भएमा सरोकारवाला निकायसम्म पुग्न सकिने बाटो हुँदाहुँदै पनि पत्रकारमाथि भौतिक आक्रमणमा उत्रिने मनसायका साथ धाकधम्की दिइएको घटनामा छानबिन गर्न माग राख्दै पत्रकारहरूले मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेललाई ज्ञापन पत्र बुझाएका हुन् ।
साथै, पत्रकारहरूले स्थानीय सरकार प्रमुखका रूपमा रहेका ग्रामथान गाउँपालिका प्रमुख नमोनारायण माझीकै सामुन्नेमा यस्तो घटना हुँदा पनि उनले मौनता साँधेको विषय शंकास्पद भएको बताउँदै छानबिन गर्न पनि प्रजिअ कट्टेललाई आग्रह गरेका छन् ।
‘अध्यक्षकै सामुन्नेमा उत्खननकर्ताहरूले हामीहरूलाई धम्क्याउँदा माझीले परिस्थिति सुल्झाउनुको सट्टा उल्टै जेनजी विद्रोहमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले त कुटाइ खाएको उदाहरण दिँदै जानकारी नै नगराई पत्रकारहरू आउँदा यस्तै हुन्छ भन्ने अभिव्यक्ति दिएको र अब दोहोर्याएर ग्रामथानको रिपोर्टिङ नगर्नसमेत चेतावनी दिनुभएको थियो’, पत्रकारले बुझाएको ज्ञापनपत्रमा भपनएको छ ।
साथै, अध्यक्ष माझीले आफ्नै ‘अरौटे भरौटे’ ल्याएर धम्की दिएको जनाउँदै यसले उनकै मिलेमतोमा प्राकृतिक स्रोतसाधनको चरम दोहन हुनेगरेको आशंकालाई पनि पुष्टि गर्ने बताएका छन् ।
ज्ञापनपत्र बुझाउने क्रममा पत्रकार महासंघ, कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारीले जनप्रतिनिधिले पत्रकारहरूलाई धम्की दिएर राज्यको चौथो अंगका रूपमा रहेको पत्रकारिता जगतको मनोबल गिराउन खोजिएको भन्दै आपत्ति जनाए ।
यस्तै पत्रकार महासंघ, मोरङका सचिव नेत्र पी अधिकारीले यो घटनालाई गम्भीर रूपमा लिएर छानबिन गर्न आग्रह गर्दै पत्रकारहरूको सुरक्षामा प्रशासनको विशेष भूमिका हुने स्मरण गराए ।
ज्ञापनपत्र बुझ्दै मोरङका प्रजिअ कट्टेलले ग्रामथान अध्यक्ष माझीलाई बोलाएर यस विषयमा सोधपुछ गर्ने आश्वासन दिए । प्राकृतिक स्रोत-साधनको दुरुपयोग भएको विषयमा पत्रकारहरूले आवाज उठाएर प्रशासनलाई सघाएको भन्दै प्रशंसा गरेका सीडीओ कट्टेलले खोला खोस्रिएको विषयमा गठित छानबिन समितिले छानबिन गरिरहेको बताए ।
मंगलबार मध्याह्नतिर समाचार संकलनका लागि ग्रामथान–४ स्थित लोहन्द्रा खोला पुगेका विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूलाई ग्रामथानका अध्यक्ष नमोनारायण माझीद्वारा परिचालित नौ जनाको समूहले हप्कीदप्की गर्दै ज्यानको धम्की दिएको थियो ।
पत्रकार महासंघ मोरङका कार्यसमिति सदस्य डुमरलाल मेहताका अनुसार अध्यक्ष माझी आफैँको सामुन्नेमा पत्रकारहरूलाई हातपात गर्ने प्रयास हुँदा पनि सहजीकरण गर्नुको साटो उनले झनै उग्र अभिव्यक्ति दिएका थिए ।
पत्रकारमाथि हात हाल्न उक्साउने खालको उनको अभिव्यक्तिबारे पत्रकारले सोध्दा उल्टै आगामी दिनमा ग्रामथान नटेक्न चेतावनी दिएको रिपोर्टिङमा पुगेका महासंघ सदस्य मोहन ढकालले जानकारी दिए ।
मेयरले त्यसरी धम्की दिँदा आफूहरूको मनोबल पनि गिरेको बताउँदै उनले यस विषयमा छानबिनको माग गर्दै सुरक्षित रूपमा रिपोर्टिङमा फर्किने वातावरण मिलाइदिन आग्रह गरे ।

संगालोखबर 























