
सुनसरी । सुनसरीका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत इटहरी-५ कलंकीमा निर्माणाधीन ‘डाइभर्सन’मा को २२ प ४५८९ नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा स्कुटर चालक सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ का ३५ वर्षीय राजवीरेन उराउको मृत्यु भएको हो । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका अनुसार गम्भीर घाइते भएका उराउलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । स्कुटरको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
यसैगरी कोशी लोकमार्गअन्तर्गत धरान उपमहानगरपालिका-४ मा बसबाट ओर्लने क्रममा ठोक्किएर एक वृद्धको मृत्यु भएको छ । धरानबाट धनकुटातर्फ जाँदै गरेको को १ ख ६०९० नम्बरको बसमा ठोक्किएर धरान-४ का ७८ वर्षीय प्रेमबहादुर मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मगर बाहिर निस्किँदै गर्दा बस अचानक अघि बढाइएको र बसकै पछाडिको भागमा ठोक्किएर उनको मृत्यु भएको हो । बसको पछाडिको भागमा ठोक्किएर बेहोस भएका उनको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।
बस चालक भोजपुरको हतुवागढी गाउँपालिका-१ घोडेटारका ३७ वर्षीय गोविन्द बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालकको लापरबाहीले दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

संगालोखबर 























