संगालोखबर


विराटनगर । विराटनगरमा जारी ३८ औं संस्करणको नोबेल विराट गोल्डकपको उपाधिका लागि पूर्व विजेता झापा-११ र घरेलु टोली सम्राट स्पोर्टिङ क्लब भिड्दै छन् ।

विराटनगरको सहिद रंगशालामा भोलि राति ७ बजेबाट हुने फाइनल भिडन्तमा दुवै टोली उपाधि आफ्नो पक्षमा पार्ने दाबीसहित मैदान उत्रने तयारीमा छन् ।

Advertisement

विराट गोल्डकपको इतिहासमा झापा-११ दोस्रो पटक उपाधि उचाल्ने दाउमा छ भने घरेलु मैदानको फाइदा उठाउँदै सम्राट स्पोर्टिङ क्लब पहिलो सहभागितामै ऐतिहासिक सफलता हात पार्न चाहन्छ ।

झापाले यसअघि २०७१ सालमा त्रिभुवन आर्मी क्लबलाई हराएर उपाधि जितेको थियो । यसपटक पनि दुई बलिया विभागीय टोली आर्मी र नेपाल पुलिस क्लबलाई पाखा लगाउँदै झापाले फाइनल यात्रा तय गरेको हो ।

पहिलो पटक प्रतियोगितामा भाग लिएको सम्राट स्पोर्टिङ क्लबको मनोबल उच्च छ । उसले क्वाटरफाइनमा पाहुना टोली भारतको विर्सामुण्डा स्पोर्ट्स एकेडेमीलाई ३-१ र सेमिफाइनलमा लिग च्याम्पियन टोली चर्च ब्वाइज युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गरेको थियो ।

आज आयोजित प्रि-म्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानले उपाधि जित्ने रणनीति सार्वजनिक गरे । सम्राटका प्रशिक्षक पारस चौधरीले घरेलु मैदान र दर्शकको साथ नै आफ्नो टोलीको मुख्य शक्ति भएको बताए ।

सम्राटका कप्तान अशोक खवासले सेमिफाइनलमा देखिएका केही फिनिसिङका कमजोरीहरूलाई सुधार गर्दै मैदान उत्रने बताए । झापा-११ का प्रशिक्षक गणेश खड्काले आफू खेलाडी हुँदा जितेको उपाधि अहिले प्रशिक्षकका रूपमा पनि दोहोर्‍याउन चाहेको बताए ।

झापाका कप्तान पूजन थापाले युवा र विदेशी खेलाडीहरूको सन्तुलित टिम रहेकाले उत्कृष्ट प्रदर्शन गर्दै प्रतिष्ठित गोल्डकपको ट्रफी दोस्रो पटक झापा लैजाने विश्वास व्यक्त गरे । चैत २८ देखि सुरु भएको प्रतियोगितामा भारतसहित ८ टोलीको सहभागिता रहेको थियो ।

विजेताले नगद ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार र विधागततर्फ उत्कृष्ट हुनेलाई जनही १५-१५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!