संगालोखबर

विराटनगर । विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी ३८ औँ संस्करणको नोबेल विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

Advertisement

सहिद मैदानमा सोमबार भएको रोमाञ्चक तेस्रो क्वाटरफाइनलमा पुर्व विजेता मछिन्द्र फुटबल क्लबलाई ‘सडन डेथ’ मा पराजित गर्दै पुलिसले अन्तिम चारको यात्रा तय गरेको हो ।

निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएपछि खेलको छिनोफानो सडन डेथबाट गरिएको थियो । टाइब्रेकरमा दुवै टोलीबाट ५–५ गोलको बराबरी भएपछि खेल सडन डेथमा धकेलिएको थियो ।

सडन डेथमा पुलिसका सुजन मगरले गोल गर्दा मछिन्द्रका श्याम मुर्मुको प्रहार पुलिसका गोलरक्षक शत्रुधन चौधरीले बचाएका थिए । पुलिसलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका गोलरक्षक शत्रुधन खेलको ‘प्लेयर अफ द म्याच’ घोषित हुँदै नगद ११ हजार रुपैयाँ पुरस्कार पाए ।

टाइब्रेकरमा पुलिसका तर्फबाट राम वाजी, सञ्जीव लामा, भरत शाह, जोन विष्ट र गोलकिपर शत्रुधन चौधरीले गोल गरे । मछिन्द्रका तर्फबाट रोहित चन्द, दिवाकर चौधरी, रोमन भुजेल, विशाल भण्डारी र देवेन्द्र तामाङले गोल गरेका थिए ।

यसअघि प्रतिस्पर्धात्मक खेलको २९ औँ मिनेटमा धिरेन्द्र शाहको गोलबाट पुलिसले अग्रता लिएको थियो । ओसेन्द्र कटुवालको पासलाई सदुपयोग गर्दै उनले टिमलाई अग्रता दिलाएका थिए । तर, पुलिसको त्यो खुसी धेरै समय टिक्न सकेन ।

खेलको ३४ औँ मिनेटमा मछिन्द्रका सौरभ लिम्बूले डिबक्स भित्रबाट हेडमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।

खेलको ६५ औँ मिनेटमा मछिन्द्रका जुसर विश्वकर्माको कडा प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

७० औँ मिनेटमा पुलिसका विजय उरावले गोलरक्षकसँगको वान–भर्सेस–वानको अवस्थामा गोल गर्न चुके भने ७५ औँ मिनेटमा सञ्जीव लामाको प्रहारलाई मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले विफल तुल्याएका थिए ।

नेपाल पुलिस क्लब विराट गोल्डकपको २०७२ सालको विजेता हो । यता, २०८२ सालको विजेता मछिन्द्र भने यसपटक पहिलो खेलबाटै बाहिरिन पुगेको छ ।

प्रतियोगिता अन्तर्गत मंगलबार अन्तिम क्वाटरफाइनल खेल घरेलु टोली सम्राट स्पोर्टिङ क्लब र भारतको झारखण्डस्थित विर्सामुण्डा स्पोट्र्स एकेडेमीबीच हुने आयोजकले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!