
विराटनगर । ५ औँ इक्वालिटी कप क्रिकेट प्रतियोगिताको उपाधि विराटनगर हबले जितेको छ । नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा भएको प्रतियोगितामा विराटनगर हबले राजविराज हबलाई ११ रनले पराजित गर्दै उपाधि जितेको हो ।
टस हारेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा १८ दशमलव ५ बलको क्षतिमा सबै विकेट गुमाउँदै ९७ रन बनाएको थियो । विराटनगरकी टिका साहले ३० रन बनाउँदा सुभेक्षा लिम्बुले १७ रन बनाइन् । राजविराजकी दिपा रामले २ विकेट लिँदा वन्दना रजकले पनि २ विकेट लिइन् ।
९८ रनको लक्ष्य पाएको राजविराजले पुरै ओभर खेल्दै ६ विकेटको क्षतिमा ८६ रन मात्रै बनाउन सक्यो । राजविराजकी कप्तान साक्षी यादवले अविजित ४८ रन बनाउँदा साक्षी देवले १३ रनको योगदान गरिन् ।
विराटनगरकी प्लेयर अफ फाइनल समीक्षा राईले ३ विकेट लिँदा सुभेक्षा लिम्बु, सानु राजवंशी र सम्रिका गौतमले १-१ विकेट लिए । प्रतियोगिताको प्लेयर अफ द सिरिज राजविराजकी साक्षी यादव घोषित भइन् । त्यस्तै उत्कृष्ट ब्याटर पनि साक्षी हुँदा उत्कृष्ट बलर विराटनगरकी सुभेक्षा लिम्बु घोषित भइन् ।
चैत २७ गतदेखि शुरु भएको प्रतियोगितामा कोशी प्रदेशबाट विराटनगर हब, पथरी, इटहरी, धनकुटा र उदयपुरबाट संयुक्त टोली आयोजक एनसीएफ ११ र मधेश प्रदेशबाट राजविराज तथा सिरहाका दुई टोली सहभागी थिए ।
विजयी तथा अन्य खेलाडीलाई प्रमुख अतिथि कोशी क्रिकेट संघका अध्यक्ष सर्वजितराज पाण्डे, नेपाल क्रिकेट संघकी पूर्व केन्द्रिय सदस्य जिना श्रेष्ठ र नेपाल क्रिकेट फाउण्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठलगायतले पुरस्कार तथा ट्रफी वितरण गरे ।

संगालोखबर 























