
विराटनगर । विराटनगरको शिक्षादीप कलेजले जलवायु सम्मेलन आयोजना गरेको छ । विद्यार्थी, अभिभावक, शिक्षकसहित सरोकारवालाहरूको सहभागितामा एकदिने सम्मेलन आयोजना गरिएको हो ।
सिटीप्यालेसमा तीन सय भन्दा बढीको सहभागितामा आयोजित सम्मेलनमा विद्यार्थीहरूले जलवायु परिवर्तनले जैविक विविधतामा पारेको प्रभावको विषयमा गरेको अध्ययन प्रतिवेदन प्रस्तुत गरेका छन् । दुई चरणमा भएको सम्मेलनमा कलेजको कक्षा ११ मा जीवविज्ञान अध्ययनरत ५० जना विद्यार्थीले प्रतिवेदन प्रस्तुत गरेको कलेजका निर्देशक रामचन्द्र अधिकारीले जानकारी दिए ।
सो अवसरमा कलेजका अध्यक्षसमेत रहेका पर्यटन वन तथा वातावरणमन्त्री भीम पराजुलीले जलवायु परिवर्तनको नकारात्मक प्रभाव बढ्दै जानु दुखद भएको टिप्पणी गर्दै यसको विषयमा सचेतना आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति विजु थपलिया र मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले कलेजले भव्य रुपमा जलवायु सम्मेलन आयोजना गरेर सचेतना फैलाउने काम गरेको भन्दै प्रशंसा गरेका छन् ।
कार्यक्रममा कलेजका प्रधानाध्यापक ज्ञानबहादुर खड्काले पनि विद्यार्थीहरूको प्रस्तुतिको प्रशंसा गरे । उनले शिक्षादीप नेपालकै उत्कृष्ट शैक्षिक संस्थाको रुपमा स्थापित भइसकेको दावी पनि गरेका छन् ।

संगालोखबर 























