
विराटनगर । विराटनगरमा आजबाट सुरु भएको ३८ औँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विजयी हुँदै झापा-११ सेमिफाइनल प्रवेश गरेको छ । शहीद रङ्गशालामा भएको रात्रिकालीन खेलमा त्रिभुवन आर्मी क्लबलाई २-१ गोल अन्तरले स्तब्ध पार्दै झापाले सेमिफाइनलको यात्रा तय गरेको हो ।
खेल सुरु भएको १० मिनेटमै अनुप तामाङले दिएको क्रस पासलाई सदुपयोग गरी झापाका फागुराम थारूले गोल गर्दै टिमको खाता खोले । २३ औँ मिनेटमा गौरव महर्जनको पासमा आर्मीका नवीन लामाले गोल फर्काएर खेललाई एक/एकको बराबरीमा ल्याए ।

पहिलो हाफ सकिन एक मिनेट बाँकी छँदा राजेश दाहालको पासमा झापाका फागुरामले दोस्रो गोल गरेका थिए । दोस्रो हाफमा खेल बराबरी गर्ने थुप्रै अवसर पाएपनि सदुपयोग गर्न नसक्दा आर्मी प्रतियोगिताबाटै बाहिरिएको छ ।
सहिद रङ्गशालामा ११ वर्षपछि आमनेसामने भएका यी दुई टोलीबीचको भिडन्त निकै प्रतिस्पर्धात्मक थियो । २०७१ सालको विराट गोल्डकप फाइनलमा झापाले आर्मीलाई हराएर उपाधि जितेको थियो । अहिले पुनः झापाले पुरानो इतिहास मात्र दोहोर्याएन, आर्मीलाई प्रतियोगिताबाट घर फर्किन बाध्य बनायो ।

खेल सुरु हुनुअघि पर्यटन वन तथा वातावरण मन्त्री भीम पराजुलीले प्रतियोगिता उद्घाटन गरेका थिए । मन्त्री पराजुलीसँगै प्रमुख जिल्ला अधिकारी युवराज कटेल लगायतले सामूहिक रुपमा बेलुन उडाएर प्रतियोगिता शुभारम्भ गरेका थिए । बैशाख ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा उपाधिका लागि ८ टिमबीच प्रतिष्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख नगद पुरस्कार पाउनेछन् । अब भोलि आइतबार ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र विभागीय टोली एपीएफ क्लबबीच खेल हुने आयोजकले जनाएको छ ।

संगालोखबर 























