
विराटनगर । मोरङ जिल्लाको सम्राट स्पोर्टिङ क्लब पहिलो पटक ‘विराट गोल्डकप’ मा सहभागि हुने भएको छ । जिल्लास्तरको उच्च श्रेणीको फुटबलमा ८ पटकसम्म ‘ए’ डिभिजन च्याम्पियन बनेर आफ्नो दबदबा कायम राखेको सम्राटले पहिलो पटक घरेलु टोलीका रूपमा सहभागिता जनाउन लागेको हो ।
जिल्लास्तरका प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्दै आएको यस क्लबका लागि विराट गोल्डकपमा डेब्यु गर्नुलाई एक ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ ।
स्थानीय खेलाडीहरूलाई प्राथमिकता दिँदै सीमित स्रोत र साधनका बीच पनि आफूलाई अब्बल सावित गर्दै आएको यस क्लबले यो प्रतियोगितालाई आफ्नो पहिचान राष्ट्रिय स्तरमा फैलाउने सुनौलो अवसरको रूपमा लिएको छ ।
पूर्णरूपमा समुदायको सहयोग र क्राउड-फन्डिङबाट सञ्चालित हुँदै आएको सम्राट स्पोर्टिङ क्लब कमिटी-आधारित मोडेलमा चल्ने क्लब हो ।
स्थानीय प्रतिभालाई उजागर गर्ने र मोरङको फुटबल गरिमालाई अझ उचो बनाउने लक्ष्यसहित मैदान उत्रन लागेको सम्राट स्पोर्टिङ क्लबलाई साथ दिन क्लबले सम्पूर्ण खेलप्रेमीहरूमा अनुरोध गरेको छ ।

संगालोखबर 























