काठमाडौं । स्थानीय तहको चुनावको मिति घोषणा भएपछि केन्द्रदेखि गाउँठाउँ सम्म नै उत्साह छाएको छ । बुधबार निर्वाचन आयोगले कार्यतालिका नै सार्वजनिक गरेपछि चुनावको प्रक्रिया पनि सुरु भएको हो । स्थानीय चुनावले १४ वर्षदेखि स्थानीय निकायमा जनप्रतिनिधिबिहीन अवस्थाको अन्त्य सँगै विकास निर्माण, सार्वजनिक सेवा प्रवाह सहज बन्ने नागरिकको अपेक्षा छ । वैशाख ३१ गते हुने चुनावको तयारीका लागि आयोगका कर्मचारी काममा जुटेका छन् । त्यस्तै आयोगमा चहलपहल पनि बढ्न थालेको छ । चुनाव होला कि नहोला भन्ने आशंका हटाउँदै दलका प्रतिनिधि पनि थप छलफल र सोधिखोजीका लागि निर्वाचन आयोग पुग्न थालेका छन् ।

झण्डै डेढ करोड मतपत्र हुने

ठ्याक्कै यति नै मतदाता छन् भन्ने यकिन विवरण सार्वजनिक भैसकेको छैन । तर आयोगले १ करोड ४० लाख मतपत्र छाप्ने तयारी गरेको छ । आयोगले चुनावका लागि आवश्यक पर्ने सामग्री कहाँबाट, कसरी संकलन गर्ने जस्ता विषयमा छलफल गरिरहेको छ । यसअघिका चुनावमा पनि जनकशिक्षा सामग्री केन्द्रमा मतपत्र छापेकाले यो चुनावका लागि आवश्यक मतपत्र पनि नेपालमै छाप्ने तयारी भएको आयोगले जनाएको छ ।

Advertisement

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार ४ सय ५० टन कागज आवश्यक छ । त्यस्तै जनशक्ति व्यवस्थापन र चुनावसँग सम्बन्धित ४ वटा ऐन पास भएर आएकोले ऐनसँग सम्बन्धित नियमावली, निर्देशिका बनाउने काम पनि भैरहेको छ । स्थानीय तहको प्रतिवेदन विना चुनावको मुख्य काम अघि बढाउन नसकिने आयोगले भन्दै आएको छ ।

१७ देखि २१ गतेसम्म नामावली सच्याउने काम

फागुन ९ गतेसम्म १८ बर्ष उमेर पूरा भएका मतदाताले चुनावमा भाग लिन पाउँछन् । फागुन १७ गतेदेखि २१ गतेसम्म मतदाता नामावलीलाई सच्याउने, दोहोरो नाम हटाउने जस्ता काम गर्ने आयोगको तयारी छ । आयोगले मतदाता नामावलीलाई अध्यावधिक गर्ने, फागुन ९ गतेसम्म नाम दर्ता भएका मतदाताको नामलाई अन्तिम नामावलीको रुपमा प्रकाशन गर्नेछ ।

उमेर पुगेर नाम दर्ता गरेका व्यक्तिको फोटो सहितको व्यक्तिगत विवरण निर्वाचन आयोगले राखेको छ । चुनावको मिति घोषणा भएको दिन फागुन ९ गतेसम्म १८ बर्ष उमेर पूरा भएका मतदाताले मात्रै चुनावमा भाग लिन पाउँछन् ।

नाम छ छैन वेभसाइटमा पनि हेर्न सकिन्छ

अघिल्लो चुनावमा भोट दिएका मतदाताले निर्वाचन आयोगको http://www.election.gov.np/election/np/bbvrs वेभसाइटमा गएर पनि आफ्नो नाम छ छैन हेर्न सक्छन् । वेवसाइटमा हेर्दा जुन जिल्लामा मत खसालेको हो त्यो जिल्ला, मतदान केन्द्र रहेको गाविस वा नगरपालिका अनि वडा र नाम राखेर हेर्न सकिन्छ ।

एक पटक फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता भइसकेको छ भने फेरि नाम दर्ता गरिराख्नु पर्दैन । तर त्यसमा कुनै त्रुटि भए वा विवरणमा हेरफेर गर्नुपर्ने भए सच्चाउनुपर्छ । त्यसका लागि फागुन १७ गतेदेखि २१ गतेसम्म ५ दिनको समय छ । मदन पौड्याल/उज्यालो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!