
विराटनगर । विराटनगर-१४ स्थित सिङ्घिया खोलामा बेपत्ता युवकको शव दुईदिनपछि फेला परेको छ । विराटनगर-१० सोमबारेका २५ वर्षीय श्रवण मण्डल मृत अवस्थामा फेला परेका हुन् ।
असोज १५ गते दिउँसो करिब १ बजे मण्डल सिङ्घिया खोलामा बेपत्ता भएका थिए । बेपत्ता भएका उनको खोजीमा जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय रानी र वडा प्रहरी कार्यालय हाटखोलाबाट टोली खटिएको थियो ।
खोजी गर्ने क्रममा आज बिष्णुटोलस्थित खोला किनारमा मण्डलको शव फेला परेको मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन् ।
मृतकका आफन्तले घटनास्थलमै आएर शवको पहिचान गरेका थिए । त्यसपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शव पोस्टमार्टमका लागि कोशी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

संगालोखबर 













