
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले सबै सेवा सुचारु गरेको छ । गत भदौमा भएको आगजनी र तोडफोडका कारण ध्वस्त बनेको कार्यालयले मर्मत सम्भार पछि सबै सेवा सुचारु गरेको हो ।
कार्यालयले राष्ट्रिय परिचयपत्र र राहदानी सेवालाई व्यवस्थित गर्न नयाँ तालिका सार्वजनिक गरेको छ । सेवाग्राहीको चाप र समस्यालाई मध्यनजर गर्दै कार्यालयले दुवै सेवाका लागि छुट्टाछुट्टै सूचना जारी गरी नयाँ व्यवस्था लागू गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन कार्यलाई सहज बनाउन बुधबारदेखि सेवा समय थप गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाद्वारा जारी सूचनाअनुसार बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन हुनेछ ।
सेवा पुनः सञ्चालन भएपछि सेवाग्राहीको अत्यधिक चाप बढेको र सीमित उपकरणका कारण सेवा प्रवाहमा कठिनाइ भएकोले समय थप गरिएको सूचनामा भनिएको छ ।
यद्यपि, तयार भइसकेका राष्ट्रिय परिचयपत्र वितरणको काम भने हाललाई स्थगित गरिएको छ । आगजनीबाट कार्ड वितरण गर्ने प्रणालीमा क्षति पुगेकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि वितरण रोकिएको सूचनामा उल्लेख छ । कार्यालयले राहदानी सेवालाई पनि व्यवस्थित गर्न नयाँ नियम लागू गरेको छ ।
कार्यालयले असोज २७ गते जारी गरेको सूचनाअनुसार आगजनीमा प्रशासनका दुईवटा र इलाका प्रशासन कार्यालय, रंगेलीको एउटा गरी तीनमध्ये दुईवटा इनरोलमेन्ट सेन्टर पूर्ण रूपमा नष्ट भएका थिए । हाल इलाका प्रशासन कार्यालय, उर्लाबारीको एउटा मात्र सेन्टर सञ्चालनमा रहेकाले सेवा प्रवाहमा चाप बढेको हो ।
यो समस्या समाधान गर्न कार्यालयले आइतबारदेखि शुक्रबारसम्म दैनिक ७५ जनालाई मात्र ‘पहिला आउनेलाई पहिलो प्राथमिकता’ को आधारमा सेवा दिने भएको छ । सेवा लिन आउने सेवाग्राहीले अनिवार्य रूपमा राहदानीको अनलाइन आवेदन फारम भरेर ल्याउनुपर्ने जनाइएको छ ।

संगालोखबर 













