इन्दु साह/संगालोखबर


विराटनगर । विराटनगर विमानस्थलको भीआईपी कक्ष बन्द गरिएको छ । जेनजी आन्दोलन पश्चात नेपाल नागरिक उड्यन प्राधिकरणको निर्देशन अनुसार भीआईपी कक्ष बन्द गरिएको हो ।

भीआईपी कक्ष बन्द भएपछि विमानस्थलमा अनावश्यक भीड हटेको छ । विमानस्थलका अनुसार भीआईपी कक्षकै कारण सुरक्षा चुनौती थपिएको थियो । सबै यात्रु सरह सुविधा उपलब्ध हुनेगरि भीआईपी कक्ष बन्द गरिएको विमानस्थलका प्रमुख सुवास झाले जानकारी दिए ।

Advertisement

काठमाडौं जाने र विराटनगर आउने राजनीतिक दलका नेताहरू भीआईपी कक्षको प्रयोग गरेर विमान चढ्ने र फर्कने गर्दथे । उनीहरूलाई विमान चढाउन र स्वागत गर्न जानेको लर्को लाग्ने गरेको थियो । भीआईपी कक्ष बन्द भएसँगै विमानस्थलमा भीडभाडसँगै सुरक्षा चुनौती पनि कम भएको प्रमुख झाले बताए ।

‘यो निर्णयसँगै कर्मचारीहरूको कार्यव्यस्तता पनि केही कम भएको छ’, प्रमुख झाले भने, ‘भीआईपी कक्षको व्यवस्थापन, सरसफाइ, सुरक्षा लगायत विभिन्न क्षेत्रमा थप जनशक्ति खटाउनुपर्ने अवस्था थियो । जसका कारण बढी समय खर्चिनुपर्ने अवस्था थियो ।’

भीआईपी कक्षमार्फत यात्रा गर्नेहरूलाई बिदाई तथा स्वागतका लागि एकैपटक ठूलो संख्यामा आफन्त र कार्यकर्ता आउने अवस्था अन्त्य हुँदा सर्वसाधारण यात्रुहरूलाई पनि सहज भएको प्रमुख झाले बताए ।

अब सबै यात्रुहरूलाई समान रूपमा लाइन बसेर प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था लागू गरिएको उनको भनाइ छ । विमानस्थलका सूचना अधिकारी प्रकाश भण्डारीका अनुसार पहिले १ जना भीआईपी यात्रु आउँदा १० देखि १५ जना साथमा आउँथे । भीआईपी कक्षको प्रयोग गर्नेहरूपनि अहिले सामान्य रूपमा अन्य यात्रुसँगै सहज तरिकाले यात्रा गरिरहेको उनले बताए ।

भीआईपी कक्ष बन्द गरिनु सकारात्मक रहेको अन्य यात्रुहरू बताउँछन् । भीआईपी कक्षको प्रयोग गर्नेहरू सहजै आवत-जावत गर्थे भने सर्वसाधारण यात्रुहरूले विभिन्न समस्या झेल्नुपर्ने अवस्था थियो । जनताले नै उनीहरूलाई भीआईपी बनाएको भन्दै विमानस्थलमा भीआईपी कक्ष बन्द हुनु सकारात्मक रहेको ब्रम्हदेव मण्डलले बताए । मोरङको धनपालथान गाउँपालिका घर भएका उनले नेताहरूले पनि जनता सरह नै यात्रा गर्नुपर्ने उल्लेख गरे ।

‘आमसर्वसाधरण बाहिर बसिरहेका हुन्थे । विमानस्थलका कर्मचारीले पनि वास्ता गर्दैनन् थिए’, विमानस्थलमा भेटिएका सिराहाका देवेन्द्रप्रसाद यादवले भने, ‘अब त्यो अवस्थाको अन्त्य भएकोमा खुसी लागेको छ ।’ यो निर्णयसँगै सबै समान हौँ भन्ने भावना जागृत हुने उनको भनाइ छ । विमानस्थलको विशेष सुविधाको अन्त्यले व्यवस्थापनलाई सहज बनाउने पनि उनले बताए ।

विराटनगर विमानस्थलबाट काठमाडौं मात्रै उडान हुँदै आएको छ । काठमाडौं विमानस्थलमा भीआईपी कक्ष बन्द रहुन्जेल विराटनगरमा पनि बन्द नै हुने विमानस्थलले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!