इन्दु साह/संगालोखबर


विराटनगर । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आगजनी भएको विराटनगरको भाटभटेनी केहीदिनसम्म जलिरह्यो । आगो पूर्णरूपमा नियन्त्रणमा आएपछि सरसफाइमा कर्मचारी जुटेका छन् ।

चाडपर्व नजिकिँदै गर्दा अन्य समयको तुलनामा किनमेल गर्न आउने उपभोक्ताको सङ्ख्यामा पनि वृद्धि हुन्थ्यो । कर्मचारीहरू पनि अन्य समयको तुलनामा व्यस्त हुन्थे । तर यसपटक सोचेभन्दा फरक भयो ।

Advertisement

सामान बेच्न व्यस्त हुने कर्मचारी यतिखेर भने भाटभटेनीको खरानी उठाउन व्यस्त छन् । लामो समयदेखि भाटभटेनीमा कार्यरत ३७ वर्षीया उषा श्रेष्ठले यस्तो अवस्था आउला भन्ने कल्पना समेत गरेकी थिइनन् ।

श्रेष्ठ यतिबेला हातमा पन्जा लगाएर जलेको भाटभटेनीको खरानी उठाउन व्यस्त छिन् । चाडपर्वकै मुखमा यस्तो अवस्था आउँदा के गर्ने कसो गर्ने भनेर पीर परेको छ । ‘भाटभटेनी जलेपछि हाम्रो पनि सपना जल्यो’, उनले भनिन्, ‘धेरैलाई रोजगारी दिएको संस्था ध्वस्त हुँदा नरमाइलो लागेको छ ।’

श्रेष्ठ काठमाडौंबाट रोजगारीको सिलसिलामा भाटभटेनीमा काम गर्न विराटनगर आएकी थिइन् । घरमा श्रीमान् र १८ वर्षको छोरा छन् । दशैं पनि नजिकिँदै थियो । श्रेष्ठ घर जाने योजना बनाइरहेकी थिइन् ।

दशैंका लागि चाहिने आवश्यक सामान किन्ने तयारीमा थिइन् । तर अब आगामी दिनमा रोजगारी गुम्ने डरले थप पिरोलेको छ । उनीमात्रै हैन विराटनगरको भाटभटेनीमा काम गर्ने झण्डै पाँच सय कर्मचारी अन्यौलमा छन् ।

कतिपयले यहिको रोजगारीबाट घरखर्च जुटाउने गरेका थिए भने विद्यार्थीहरूले पढाइ खर्च जुटाउँदै आएका थिए । प्रियङ्का राना मगर पनि उनीहरूमध्ये एक हुन् । विद्यार्थी जीवनसँगै आफ्नो खर्च जुटाउन मेहनत गर्दै आएकी थिइन् । भाटभटेनी जलेर खरानी भएसँगै उनको पनि सपना जल्यो ।

अब पुनः रोजगारीका लागि भौतारिनुपर्ने अवस्थाले उनलाई पिरोलेको छ । भाटभटेनीमा काम गरेर नै उनले आफ्नो जिविकोपार्जन गर्दै आएकी थिइन् ।

नेपालभरका २८ वटा भाटभटेनी शाखामध्ये १३ वटा शाखा जेनजी आन्दोलनको क्रममा पूर्णरूपमा नष्ट भएका छन् भने अन्य शाखामा पनि क्षति पुगेको छ । जसबाट देशभर भाटभटेनीमा कार्यरत करिब पाँच हजार कर्मचारीको रोजगारी जोखिममा परेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!