
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र इजरायली राजदूत श्मुलिक आरिबास बीच भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विराटनगरमा भएको भेटवार्तामा नेपाल-इजरायल बीचको ऐतिहासिक मित्रताका बारेमा चर्चा भएको छ ।
कृषि, श्रम रोजगार र स्वास्थ्य क्षेत्रमा मुख्य सहकार्य हुँदै आएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले नेपाली मुख्यतया कृषि र केयरगिभरमा इजरायलमा कार्यरत भएको तथा यसलाई अझै व्यवस्थित बनाउनुपर्ने मुख्यमन्त्री कार्कीले बताए ।
नवप्रवर्तक र प्रविधि हस्तान्तरणमा इजरायलको अनुभव नेपालका लागि उपयोगी हुने चर्चा गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेश पनि इजरायल सरकारसँग सहकार्य गर्न तयार रहेको स्पष्ट पारे ।
इजरायलमा आधुनिक कृषि प्रविधिका माध्यमबाट भएको प्रगतिको प्रशंसा गर्दै कार्कीले कोशी पनि कृषि उत्पादनका लागि प्रचुर सम्भावना बोकेको प्रदेश भएकाले सहकार्यको लागि तयार रहेको बताए ।
मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले कृषिमा उद्यमशीलता विकास गर्नका लागी ब्याज अनुदान दिएर युवाहरूलाई कृषि पेशा अँगाल्न प्रेरित गरेको बताए । उनले कोशी प्रदेशका कृषकलाई शैक्षिक र व्यावहारिक तालिमको व्यवस्था गर्न सके कृषिका माध्यमबाट प्रदेशको आर्थिक विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।
सोही अवसरमा मुख्यमन्त्री कार्कीले नेपाली युवा बिपिन जोशीको रिहाइका लागि पहल गरिदिन पनि आग्रह गरेका छन् । मनमोहन प्राविधिक विश्वविद्यालय, गौरादह कृषि क्याम्पस लगायत प्रदेशका कृषि क्याम्पसहरूसँग सहकार्य गरेर अगाडि बढ्नका लागि पनि मुख्यमन्त्री कार्कीले इजरायली राजदूतसँग आग्रह गरे ।
इजरायली राजदूत श्मुलिक आरिबासले नेपाल र इजरायलको सम्बन्ध अत्यन्तै पुरानो र गाढा भएको बताए । उनले पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको पालादेखि नेपाल र इजरायलको सम्बन्ध सुमधुर रहेको उल्लेख गरे ।
उनले कृषि क्षेत्रमा काम गर्न र सहकार्य गर्न इजरायल सरकार तयार रहेको बताउँदै कोशी प्रदेशमा पनि सम्भावना भएको क्षेत्रमा सहकार्य गर्ने बताए । नेपालमा कृषि काम गर्ने ५० प्रतिशत भन्दा बढी भएपनि सो अनुसारको प्रगति नभएको र इजरायलमा थोरै जनसङ्ख्या कृषिमा काम गर्ने भएपनि उल्लेख्य प्रगति भएको उदाहरण दिँदै उनले कृषि क्षेत्रमा अझै धेरै काम गर्नुपर्ने बताए ।

संगालोखबर 













