
विराटनगर । विराटनगरमा शोकमा डुबेको परिवारमाथि मध्यरातमा आक्रमण भएको छ । घटना सोमबार मध्यरातिको हो । विराटनगर-११ पिचराका हरिनारायण कामत पत्नीको तथा किरण, सन्तोष र काली आमाको मृत्युवियोगमा थिए । सात दिनदेखि शोकमग्न हरिनारायणको परिवारमा उक्त राति नसोचेको घटना हुन्छ ।
मध्यराति मदिराले लठ्ठ भएका दुई युवा हरिनारायणको घरमा पस्छन् र उनीहरूमाथि आक्रमण सुरु गर्छन् । आमाको किरियामा बसेका माइला छोरा किरणसहित परिवारका चारैजना सदस्यलाई उनीहरूले आक्रमण गरे ।
पीडित परिवारका अनुसार उनीहरूले गालीगलौजसहित कुटपिट गरेका थिए । मध्यरातमा घटना भएपछि पीडित परिवारले बखरी प्रहरी चौकीमा खबर गरेका थिए । त्यसपछि उनीहरू त्यहाँबाट फरार भए ।
प्रहरीले घटनामा संलग्न प्रमोद सहनी र सुनिल सहनी दुवैजनालाई नियन्त्रणमा लिइसकेको छ । पीडित परिवारले मंगलबार बिहान जिल्ला प्रहरी कार्यालय मोरङमा किटानी जाहेरी दिइसकेका छन् । मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार पक्राउ परेका दुवैजनाविरुद्ध अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।
‘जग्गा जमिनको रिसिवीको कारण घटना भएको भन्ने छ’, डीएसपी चुडालले संगालोखबरसँग भनिन्, ‘घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान अघि बढाएका छौँ ।’ विराटनगर-११ मा रहेको कित्ता नम्बर ८८ को एक कठ्ठा जग्गाको विषयले विवाद भएको स्थानीयको भनाइ छ ।
जुन जग्गामा विगत ३५ वर्षदेखि हरिनारायणको परिवार घर बनाएर बस्दै आएको छ । पीडित परिवारका अनुसार यसभन्दा पहिला पनि उनीहरूले धम्की दिँदै आएका थिए ।

संगालोखबर 













