संगालोखबर


विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशसभामा रहेको आम सञ्चार विधेयकका विषयमा थप छलफल आवश्यक रहेको बताएका छन् । आज नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशको ज्ञापनपत्र बुझ्दै उनले विधेयकको विषयमा थप छलफल गर्ने बताएका हुन् ।

मुख्यमन्त्री कार्कीले संसद् भित्र प्रवेश गरिसकेको विषय सरकारको मात्रै विषय नभएकोले सरोकारवाला दलहरूसँग पनि छलफल गरेर अगाडि बढ्ने बताए । उनले आफू कोशी प्रदेशमा आएदेखि नै पत्रकारहरूको एउटा दर्बिलो संस्था बनाउने इच्छा रहेको उल्लेख गर्दै कानुन मार्फत नै संस्था बनाएर काम गर्ने सोचअनुरूप यो विधेयक ल्याएको जानकारी दिए ।

Advertisement

पत्रकारसँग जोडिएका सङ्घसंस्थाको चासो र सरोकार गम्भीरतापूर्वक आएकाले अब यसलाई थप छलफल गरेरै अगाडि बढाउने मुख्यमन्त्री कार्कीले उल्लेख गरे ।

उनले आफू आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा हुँदा बनेको संस्था बीचैमा खारेज हुँदा सरोकारवालाहरू मौन रहेकाले त्यसलाई परिपूर्ति गर्न कानुन मार्फत नै प्रयत्न गरेको स्मरण गर्दै अहिले प्रदेश सभामा भएको विधेयकमा देखिएका विषयलाई छलफलका माध्यमबाट समाधान गरिने प्रयत्न गर्ने बताए ।

अब अहिले बनेको विधेयक थप छलफल गर्नुपर्ने अवस्थामा पुगेकोले विधेयक पास हुन समय लाग्ने  महासङ्घ पदाधिकारी तथा सदस्यलाई मुख्यमन्त्रीले जानकारी दिए । आफू प्रेस स्वतन्त्रता  तथा संविधानले प्रत्याभूत गरेका अधिकारका विषयमा प्रतिबद्ध भएको उल्लेख गर्दै उनले पत्रकारहरूको मागलाई सकारात्मक रूपमा लिएको बताए ।

नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष भरत खड्का तथा महासचिव हिमा चेम्जोङले पत्रकारहरूका माग र सम्बोधन गर्नुपर्ने विषयका बारेमा संस्थागत धारणा राखेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!