संगालोखबर


विराटनगर । विराटनगरमा सरकारी गाडी आगजनी गरेको आरोप लागेका विद्यार्थी नेताहरूले सफाइ पाएका छन् । अदालतले प्रमाणको अभाव देखाउँदै आपराधिक उपद्रव मुद्दाका सबै प्रतिवादीलाई सफाइ दिने फैसला सुनाएको हो ।

२०८१ साल जेठ २७ गते बिहान रोडशेष चोकबाट कोशी प्रदेश योजना आयोगको कार्यालयतर्फ जाँदै गरेको को १ झ ६४४ नम्बरको गाडी महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस अगाडि नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल क्रान्तिकारीका कार्यकर्ताले जलाएका थिए ।

Advertisement

यस्तै नेपाल विद्युत प्राधिकरणको कार्यक्रम स्थल बाहिर (कञ्चनजङ्घा पार्टी प्यालेस) पार्किङमा राखिएका बा १ ञ १८८७, बि एबी ८१८०, बा १ ञ २४१९, बागमती प्रदेश ०१-००१ ञ २७०१ र बागमती प्रदेश ०१-००१ ञ २७९० नम्बरको गाडीमा तोडफोड भएको थियो ।

रंगेलीमा दीपक यादवसहित ४ जना विद्यार्थी पक्राउ परेको विरोधमा आन्दोलित विद्यार्थीहरूले आगजनी र तोडफोड गरेका थिए । उक्त घटनामा संलग्न रहेको आरोप लागेका सबै विद्यार्थी नेतालाई न्यायाधीश मेघनाथ चापागाईंको इजलासले सफाइको फैसला सुनाएको हो ।

उक्त घटनामा प्रहरीले विद्यार्थी नेताहरू सनिम ठकुरी, प्रशान्त यादव, प्रज्वल विष्ट, रोशन कुमार पासमान, मोहमद सलमान, भानु चेल, जयनारायण पाण्डे, देवकुमार साह, अभिमन्यु यादव र प्रज्वल अधिकारीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।

नेपाल सरकार वादी रहेको उक्त मुद्दामा प्रतिवादीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा २८५ विपरीत आपराधिक उपद्रव गरेको अभियोग लगाइएको थियो । अभियोग पत्रमा तोडफोड र आगजनीबाट भएको २७ लाख ७० हजार ५ सय ९६ रुपैयाँ २१ पैसा क्षतिपूर्ति पनि प्रतिवादीहरूबाटै भराउन माग गरिएको थियो ।

अदालतमा पेस गरिएको सीसी टिभी फुटेजको सीडी स्क्रयाच भएका कारण खुल्न नसकेको तथा अदालतमा कागज गर्ने व्यक्तिहरूले पनि प्रतिवादीहरूले नै कसुर गरेको भनी किटानी बयान दिन नसकेका कारण उनीहरूलाई सफाइ दिइएको फैसलामा उल्लेख गरिएको छ ।

अदालतले सनिम ठकुरी, प्रशान्त यादव, प्रज्वल विष्ट, रोशन कुमार पासमान, मोहमद सलमान, भानु चेल, देव कुमार साह र प्रज्वल  अधिकारीलाई अभियोग दाबीबाट सफाइ दिएको छ भने जयनारायण पाण्डे र अभिमन्यु यादव अदालतमा हाजिर नभएकाले उनीहरूको हकमा मुद्दा मुल्तबीमा राखिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!