संगालोखबर
फाइल तस्बिर

विराटनगर । विराटनगरमा आज ५८ औं संस्करणको राधाकृष्ण रथयात्रा निकालिँदैछ । दक्षिण एसियाकै दोस्रो ठूलो दाबी गरिएको रथयात्रामा नेपालसहित भारतबाट पनि हजारौंको संख्यामा भक्तजनहरू आउँछन् ।

रथयात्रालाई व्यवस्थित र मर्यादित बनाउन सुरक्षा व्यवस्था कडा पारिएको छ । रथयात्राका क्रममा चोरी तथा उच्छृङ्खल गतिविधि हुने सम्भावना बढी भएकाले त्यस गतिविधिमा संलग्नलाई तत्कालै नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मीहरू परिचालन गरिएको छ ।

Advertisement

मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार रथयात्रामा सादा पोशाकसहितका एक हजार बढी सुरक्षाकर्मी परिचालन हुनेछन् ।

‘रथयात्रा विशेष सुरक्षा योजना अन्तरगत प्रविधिसहित निगरानी गर्ने छौं’, डीएसपी चुडालले संगालोखबरसँग भनिन्, ‘कुनैपनि किसिमका अमानवीय र चोरीका घटना भएमा तत्कालै नियन्त्रणमा लिन विभिन्न तरिकाहरू अपनाएका छौं ।’

उनले रथयात्रामा सिसि क्यामेरा र ड्रोनबाट समेत प्रत्यक्ष निगरानी गरिने जानकारी दिइन् । रथयात्रालाई सुरक्षित बनाउन पर्याप्त मात्रामा जनशक्ति खटाएको उनको भनाइ छ । कुनै घटना घटेमा कसेले घटायो भनेर तत्कालै थाहा पाउन प्रविधिसहित जनशक्ति परिचालन गरिएको डीएसपी चुडालले जानकारी दिइन् ।

यसपटक रथको आकार पनि ठूलो बनाइएको छ । प्यागोडा शैलीमा निर्माण गरिएको रथलाई विगतका वर्षहरूमा भन्दा आकर्षक बनाइएको रथयात्रा मूल समारोह समितिका अध्यक्ष कैलाश रेग्मीको भनाइ छ ।

हाइड्रोलिक ब्रेक जडान गरिएको नयाँ रथको लम्बाइ १९ फिट, चौडाइ १४ फुट र उचाइ २१ फिट ३ इन्च छ । पुरानो रथको लम्बाइ १६ फिट, चौडाइ १२ फिट र उचाइ १८ फिट थियो ।

यसपटक रथलाई ४४ स्थानमा विश्राम गर्ने तय भएको छ । मन्दिर परिसरबाट शुभारम्भ हुने रथ ट्राफिक चोक, रोडशेष हुँदै बरगाछीबाट पुनः मन्दिरतर्फ पुगेर समापन हुन्छ ।

९ किलोमिटरको दूरी पार गर्न करिब ५/६ घण्टा समय लाग्ने अनुमान समितिको छ । यसपटक पाँच लाख बढी भक्तजनहरू आउने अनुमान गरिएको छ । विक्रम सम्वत् १९८८ सालदेखि ‘खटयात्रा’ सुरु भई २०२४ सालबाट निरन्तर रूपमा रथयात्रा हुँदै आएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!