
विराटनगर । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर राधाकृष्णको नयाँ रथ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरेका छन् ।
विराटनगर-१ स्थित राधाकृष्ण मन्दिर परिसरमा आज बिहान आयोजित कार्यक्रममा मेयर कोइरालाले नयाँ रथको पूजा गरी उद्घाटन गरेका हुन् ।
सो अवसरमा मेयर कोइरालाले राधाकृष्ण रथयात्रासँग सम्बन्धित म्युजिक भिडियोको विमोचन पनि गरेका छन् । विराटनगर महानगरपालिकाको ४४ लाख ७८ हजार लागतमा प्यागोडा शैलीमा नयाँ रथ निर्माण गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले राधाकृष्ण रथयात्रालाई भव्य र सभ्य बनाउन सबैलाई आग्रह गरे । रथयात्रा विराटनगरको मात्रै नभएर नेपालकै गौरव भएको उनको भनाइ थियो ।
विराटनगरको पहिचानसँग जोडिएको राधाकृष्ण रथयात्रालाई भव्य बनाउन र आगामी दिनमा रथको व्यवस्थापनका लागि महानगरका तर्फबाट सम्पूर्ण सहयोग रहने मेयर कोइरालाले प्रतिबद्धता जनाए ।
राधाकृष्णको रथयात्रा भोलि आइतबार विराटनगरमा निकालिँदैछ ।

संगालोखबर 













