
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार राति फरक-फरक स्थानमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार बुढीगंगा-२ अमाही बोक्ला टोलस्थित भित्री सडकखण्डमा राति १०ः१५ बजेतिर भएको दुर्घटनामा बुढीगंगा-२ कै २५ वर्षीय विकासकुमार भगतको मृत्यु भएको हो ।
नेमुवाबाट अमाहीतर्फ जाँदै गरेको को ३५ प ५०३३ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा चालक भगत गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा राति १२ः३० बजे विराट शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी कोशी लोकमार्गअन्तर्गत बुढीगंगा-३ स्थित एसियन फ्यूल सेन्टरनजिक भएको दुर्घटनामा विराटनगर-४ का ४२ वर्षीय कात्तिक विश्वासको मृत्यु भएको छ ।
राति ११ बजेतिर नेमुवाबाट विराटनगरतर्फ आउँदै गरेको को २१ प ८६९२ नम्बरको मोटरसाइकल सडकको डिभाइडरमा ठोक्किएको थियो । गम्भीर घाइते उनलाई उपचारका लागि कोशी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक विराटनगर-४ का सञ्जय थान्दार गम्भीर घाइते भएका छन् । उनको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको जनाएको छ ।

संगालोखबर 













