
विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिका-१ गोरखा डिपार्टमेन्ट अगाडि ट्रकले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु भएको छ ।
बिहीबार साँझ करिब ७ः१० बजे उर्लाबारीबाट बेलबारीतर्फ आउँदै गरेको को १ क ९७५१ नम्बरको ट्रकको ठक्करबाट महिलाको मृत्यु भएको हो । अन्दाजी ३० वर्षीया मृतक महिलाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी महिलालाई उपचारका लागि मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टर मंगलबारे लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटना पश्चात ट्रकको खोजी गर्ने क्रममा बेलबारी नगरपालिका-१० भाउन्ने जंगलमा फेला पारेको प्रहरीको भनाइ छ । प्रहरीले ट्रकका सह-चालक सुनसरीको रामधुनी नगरपालिका-९ का ३२ वर्षीय जितन सदा र चालक सोही स्थानका ४० वर्षीय बलराम चौधरीलाई नियन्त्रणमा लिएको छ ।
शव पोष्टमार्टमका लागि दमक अस्पताल झापामा लगिएको प्रहरीको भनाइ छ । पैदल यात्रीको लापरबाहीका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

संगालोखबर 













