
विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका-१ झरनाकुटुकीमा पतिको कुटाइबाट पत्नीको मृत्यु भएको छ । घरायसी विवादका क्रममा पति ४५ वर्षीय बाबुधन सतारले कुटपिट गर्दा ४० वर्षीया दुर्बी सतारको मृत्यु भएको हो ।
प्रहरीका अनुसार दुर्बीमाथि आइतबार राति करिब ८ बजे कुटपिट भएको खुलेको छ । कुटपिटबाट घाइते भएकी उनलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो । तर अवस्था थप गम्भीर हुँदै गएपछि आफन्तले सोमबार आफूखुसी घर लिएर गएको खुलेको छ ।
उनको घर लैजाने क्रममा बाटोमा नै सोमबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरूको झगडा छुट्याउन गएका छिमेकी ५० वर्षीय छोटेलाल हस्दासमेत घाइते भएका छन् । उनको कोशी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बाबुधनलाई इलाका प्रहरी कार्यालय पथरी नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने प्रहरीको तयारी छ ।

संगालोखबर 













