संगालोखबर


विराटनगर । मोरङको कटहरी गाउँपालिका-३ का स्थानीयले हुलाकी सडकमा रोपाइँ गरेका छन् । लामो समयदेखि सडक निर्माणले गति लिन नसक्दा विरोध स्वरुप स्थानीयले सडकमा धान रोपेका हुन् ।

६ वर्षदेखि निर्माणाधीन हुलाकी राजमार्गको हालसम्म २७ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । सडक अलपत्र हुँदा बर्खामा हिलो र हिउँदमा धुलोले समस्या भोग्दै आएका स्थानीयले आज कटहरी चोकमा धान रोपेर एक घण्टा विरोध जनाएका छन् ।

Advertisement

पानी परेको समयमा आवत-जावतमा समस्या हुनेगरेको तथा घाम लागेको बेला धुलोका कारण व्यापार व्यवसायमा नै समस्या आएको स्थानीयको गुनासो छ । निर्माण व्यवसायीको लापरबाहीका कारण सडक निर्माणमा ढिलाइ भएको स्थानीयको आरोप छ ।

सङ्घीय सरकारले २०७६ कार्तिक २४ गते तीन वर्षमा काम सम्पन्न गर्ने गरी श्रेष्ठ कन्स्ट्रक्सनलाई ७६ करोड रुपैयाँमा ठेक्का प्रदान गरेको थियो । सम्झौताअनुसार २०७९ कार्तिक २३ गतेसम्म काम सकिनुपर्ने थियो ।

तोकिएको म्यादमा काम सम्पन्न हुन नसकेपछि दोस्रो पटक म्याद थप गरेर २०८२ जेठ मसान्तसम्म निर्धारण गरिएको छ । तर थपिएको म्यादमा पनि निर्माण कार्यले अपेक्षित गति नलिएको स्थानीयको भनाइ छ ।

सुवास श्रेष्ठ सञ्चालक रहेको श्रेष्ठ कन्स्ट्रक्सनले काम पूरा गर्न नसकेपछि ६ महिनाअघि काँग्रेसका नेता अभिषेक गिरीलाई पेटी ठेक्का दिएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!