
विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-२० सिरिसेबास स्थित हिले खोलाबाट गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालिका-८ जलाराका ३२ वर्षीय बिरेन राई र खुडीका ३८ वर्षीय मोहन राई छन् ।
सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार उनीहरू दुई वटा मोटरसाइकलमा धरानतर्फ आउँदै गरेको अवस्थामा पक्राउ परेका हुन् ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले को ३८ प २६९६ नम्बरको मोटरसाइकलमा सवार बिरेनको साथबाट १३ किलो एक सय १५ ग्राम गाँजा बरामद गरेको छ ।
यस्तै प्र १-०२-०५२ प ९६५७ नम्बरको मोटरसाइकलमा सवार मोहनको साथबाट ११ किलो एक सय पाँच ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल र गाँजासहित पक्राउ परेका दुबै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखेर आवश्यक अनुसन्धान सुरु गरिएको छ ।

संगालोखबर 













