
विराटनगर । विराटनगरको पहिचान बनेको राधाकृष्ण रथयात्रा दक्षिण एसियाकै दोस्रो ठूलो रथयात्राका रूपमा परिचित छ । गतवर्ष जस्तै यसवर्ष पनि धुमधामका साथ रथयात्रा निकाल्ने तयारीलाई तीब्र पारिएको छ । वि.सं. १९८८ मा राधाकृष्ण मन्दिरबाट खटयात्रा सुरु गरिएको भएपनि वि.सं. २०२४ सालदेखि रथयात्रा सुरु गरिएको हो ।
यसपटक खटयात्राको ९४ औं र रथको ५८ औं संस्करण पूरा हुनेछ । ५८ औं संस्करणको रथयात्रामा रथको आकार फरक हुनेछ । रथयात्रा मूल समारोह समितिका अध्यक्ष कैलाश रेग्मीका अनुसार नयाँ रथको उचाइ २१ फिट ३ इन्च, चौडाइ १४ फिट, लम्बाइ १९ फिट र जुवाको भाग ८ फिट रहने छ । यो भन्दा पहिला रथको उचाइ १८ फिट, चौडाइ १२ फिट र लम्बाइ १६ फिट रहेको थियो ।
अहिले नयाँ रथ निर्माणको काम धमाधम भइरहेको छ । हालसम्म रथ निर्माणको काम करिब ८० प्रतिशत सकिएको अध्यक्ष रेग्मीले जानकारी दिए । उनले पुरानै शैलीमा आधुनिक रथ निर्माण हुने जानकारी दिए । साना-साना कुरालाई ध्यान दिएर रथलाई आकर्षक बनाउने रेग्मीले जानकारी दिए ।
‘यसवर्ष रथयात्रा केही फरक हुनेवाला छ’, अध्यक्ष रेग्मीले भने, ‘विगतमा भन्दा यसपटक रथ ठूलो हुन्छ । भक्तजनहरूले यसपटक पुरानै शैलीको तर आधुनिक रथ अवलोकन गर्न पाउनुहुनेछ ।’
विगतका वर्षहरूमा पनि रथको मर्मत हुँदै आएकोमा यसपटक भने स्वरुप बिग्रनेगरी ठूलो र आधुनिक बनाइएको उनले जानकारी दिए । नयाँ निर्माण हुँदै गरेको रथमा चार वटा मात्रै पिलर रहेको र ब्रेक पनि हुने अध्यक्ष रेग्मीले बताए ।
रथयात्रा मूल समारोह समितिले यसपटक गतवर्षहरूको तुलनामा भक्तजनको सङ्ख्या पनि वृद्धि हुने अपेक्षा गरेको छ । ‘यसपटक भारतीय सिमा क्षेत्रमा पनि रथयात्राको प्रचार-प्रसार गर्ने तयारीमा छौं’, अध्यक्ष रेग्मीले संगालोखबरसँग भने, ‘विगतमा प्रचार नगर्दा पनि भक्तजनहरू आएकै हुन् । यसपटक रथ पनि आधुनिक, त्यसले पनि भक्तजन तान्छ । प्रचार-प्रसार गरेपछि विगतमा भन्दा बढी भक्तजन आउनेमा हामी ढुक्क छौं ।’
आगामी भदौ १ गते आइतबार दिउँसो ३ः३० बजे मन्दिर परिसरबाट शुभारम्भ हुने रथलाई महानगरको ९ किलोमिटर क्षेत्र परिक्रमा गराउँदै ४४ स्थानमा विश्राम गर्ने तालिका बनाइएको छ ।
रथयात्रालाई व्यवस्थित र भव्यरूपमा सम्पन्न गर्न एक हजार एक सदस्यीय मूल समारोह समिति गठन गरिएको छ भने सोही समितिको मातहत रहनेगरी १६ वटा उपसमितिहरू बनाइएको छ ।

संगालोखबर 













