संगालोखबर

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ (पुसोई) मा इन्जिनियरिङ अध्ययनका लागि विभिन्न सङ्कायमा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गर्दै अध्ययन पुरा गरेका विद्यार्थीलाई बिदाइ गरिएको छ ।

Advertisement

आज एक कार्यक्रमबीच २०२४ को सेमेष्टरमा भर्ना भएका १३५ जना विद्यार्थीहरूको स्वागत र २०१९ मा भर्ना भएर अध्ययन पुरा गरेका १४८ जना विद्यार्थीलाई बिदाइ गरिएको हो ।

कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. विजुकुमार थपलियाले विश्वविद्यालयले समयमै परीक्षा लिने र नतिजा समयमै निकाल्दै आएको बताए । उनले इन्जिनियरिङ अध्ययनबाट मुलुकका लागि दक्ष प्राविधिक जनशक्ति उत्पादन हुने विश्वास व्यक्त गरे ।

विश्वविद्यालय अन्तरगतका आङ्गिक क्याम्पसमा पठन-पाठनमात्रै नभएर यस प्रकारका कार्यक्रम पनि आवश्यक रहेको उपकुलपति थपलियाले बताए । उनले विद्यार्थीहरूले क्याम्पसलाई आफ्नो घर ठानेर कलेजलाई अब्बल बनाउँदै लैजानुपर्नेमा जोड दिए ।

विश्वविद्यालयले पनि नयाँ नयाँ कार्यक्रमहरू ल्याउँदै जाने र आगामी दिनमा विद्यार्थीहरूलाई अझ नयाँ अवसर प्रदान गर्ने उनले बताए । उनले इन्जिनियरिङतर्फ विश्वविद्यालयबाट हालसम्म २० हजार बढी प्राविधिक जनशक्ति उत्पादन भइसकेको जानकारी दिए ।

पुसोईका इन्जिनियरिङ सङ्कायका निमित्त डीन हेमन्त कुमार गोइतले विद्यार्थीहरूले भविष्यको सपना देखेर अघि बढ्नु पर्ने बताए । उनले आफूलाई पढाउनका लागि अभिभावकले गरेको दुःख सम्झिएर मेहेनत गर्न विद्यार्थीहरूलाई आग्रह गरे ।

कार्यक्रममा विश्वविद्यालयका अनुगमन तथा मूल्याङ्कन केन्द्रका कार्यकारी निर्देशक उत्तमकुमार रेग्मी, प्राध्यापक सङ्घका उपसभापति जीवन थापा लगायतले शुभकामना दिएका थिए । पुसोईका निर्देशक ई. तेजराज गिरीको अध्यक्षतामा आयोजित कार्यक्रममा विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थीहरूको उपस्थिति थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!