
विराटनगर । कोशी प्रदेशबाट एक वर्षको अवधिमा लागूऔषध ओसार-पसार तथा बेचबिखनमा संलग्न एक हजार नौ सय ८५ जना पक्राउ परेका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा एक हजार आठ सय ८८ जना पुरुष र ९७ जना महिलासहित एक हजार नौ सय ८५ जना पक्राउ परेका हुन् ।
लागूऔषधको प्रयोग तथा ओसार-पसारलाई नियन्त्रण तथा निरुत्साहित गर्न कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले विभिन्न रणनीति बनाएर काम गरिरहेको जनाएको छ ।
लागूऔषध प्रयोगका कारण समाजमा हत्या, लुटपाट, चोरी लगायतका आपराधिक घटना घट्ने भएकाले रोकथामका लागि विशेष अभियान चलाइएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिए ।
बढ्दो लागूऔषधको प्रयोग, बेचबिखन तथा ओसार-पसारलाई नियन्त्रण तथा निरुत्साहित गर्न लोकमार्ग तथा भित्री सडक खण्डहरू, सिमा नाकालगायतका स्थानमा कडाइका साथ चेकजाँच गर्ने गरिएको उनको भनाइ छ ।
झापा प्रहरीले एक वर्षमा चरेस १ ग्राम ५६० मिलिग्राम, ब्राउन सुगर २ किलो ८८२ ग्राम ४६८ मिलिग्राम, विभिन्न मनोद्विपक औषधी ६३ हजार ५६० चक्की बरामद गरेको छ । मोरङ प्रहरीले १ किलो ७७० ग्राम ८३ मिलिग्राम ब्राउन सुगर, विभिन्न मनोद्विपक औषधी ८० हजार ९२३ चक्की र सुनसरीले चरेस २ ग्राम २८ मिलिग्राम, ७२८ ग्राम ५३९ मिलिग्राम ब्राउन सुगर, विभिन्न मनोद्विपक औषधी ४ लाख २८ हजार ६८३ चक्की बरामद गरेको छ ।
यस्तै कोशी प्रदेश अन्तरगत रहेका जिल्ला प्रहरी कार्यालयहरूबाट परिचालन भएको प्रहरी टोलीले चरेस ३ ग्राम ५ सय ८८ मिलिग्राम, अफिम १५ ग्राम ७ सय ७० मिलिग्राम, ब्राउन सुगर ५ किलो ४ सय ८९ ग्राम, विभिन्न मनोद्विपक चक्की तथा क्याप्सुल ६ लाख १५ हजार ७९ वटा, मनोद्विपक एम्पुल २ हजार ६ सय ५४ वटा र अन्य विभिन्न मनोद्विपक औषधी १ सय ९ वटा बरामद गरेको छ । लागूपदार्थ कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली समेत चलाउनु परेको थियो ।

संगालोखबर 













