
धनकुटा । धनकुटाबाट एक वर्षको अवधिमा ८८ जना लागूऔषध कारोबारी पक्राउ परेका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा ८२ जना पुरुष र ६ जना महिलासहित ८८ जना पक्राउ परेका हुन् ।
प्रतिबन्धित लागूऔषध ओसार-पसार तथा बेचबिखनमा संलग्न उनीहरूमध्ये ७५ जनाविरुद्ध मुद्दा दर्ता भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
सो अवधिमा प्रहरीले चार हजार एक सय ९४ किलो १८० ग्राम गाँजा नियन्त्रणमा लिएको छ । यस्तै एक हजार छ सय पाँच ट्याब्लेट विभिन्न प्रकारको लागूऔषध र ३० ग्राम २२४ मिलिग्राम ब्राउन सुगर बरामद भएको डीएसपी खनालले जानकारी दिए ।
पछिल्लो समय धनकुटामा लागूऔषध कारोबारी पक्राउ पर्ने क्रम बढेको छ । लागूऔषध ओसार-पसार तथा बेचबिखन नियन्त्रण गर्न धनकुटा प्रहरीले विशेष अभियान चलाइरहेको छ ।

संगालोखबर 













