
विराटनगर । विराटनगरमा पोल भाँचिएर विद्युत अवरुद्ध भएको स्थानमा भोलिबाट मात्रै विद्युत सुचारु हुने सम्भावना देखिएको छ । जनशक्ति अभावका कारण भाँचिएका पोल स्थानान्तरणमा ढिलाइ हुँदा आज विद्युत सुचारु हुने सम्भावना छैन ।
नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख सरोज कुमार साहका अनुसार पोल भाँचिदा महेन्द्र चोकदेखि बाबा सिनेमा हालसम्म करिब एक सय घरमा विद्युत अवरुद्ध भएको छ ।
‘जनशक्ति अभावका कारण आज सबै पोल स्थानान्तरणमा समस्या हुन्छ । बिहानदेखि नै काम भइरहेको छ’, साहले संगालोखबरसँग भने, ‘आज सबै बनाइसक्न समस्या नै होला । आज भएन भने भोलिसम्ममा विद्युत सुचारु हुन्छ ।’
चार/पाँच जना जनशक्ति मात्रै भएकाले समस्या भएको उनको भनाइ थियो । ‘ठेकदारको जनशक्ति रोपाइँ गर्न गएका छन्’, उनले थपे, ‘उनीहरूलाई पनि बोलाएको छ । जनशक्ति थपिएपछि छिटो हुन्छ । १२/१५ वटा पोल ढलेको छ ।’
पोल दुई टुक्रा भएकाले नयाँ पोल ढुवानी गर्नुपर्ने उनको भनाइ छ । ‘पोल नफेरी कुनै उपाय छैन’, उनले भने ।

संगालोखबर 













