
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-६ कोयलपुरस्थित सुनसरी-मोरङ सिँचाइ आयोजनाको नहर नजिक सडेको अवस्थामा फेला परेको शवको पहिचान हुन सकेको छैन । शनिबार दिउँसो एक युवतीको शव नग्न र सडेको अवस्थामा फेला परेको थियो ।
प्रहरीले युवतीको उमेर १८ देखी २० वर्ष हुनसक्ने अनुमान गरेको छ । शव भेटिएको चारदिन भइसक्दा पनि पहिचान हुन नसकेपछि प्रहरीले युवतीका कपडा, चप्पल र गहना सार्वजनिक गरेर पहिचानको प्रयास गरिरहेको छ ।
घटना गम्भीर प्रकृतिको हुन सक्ने प्रहरीको अनुमान छ । ‘मृतक युवतीको पहिचान हुन सकेको छैन’, मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुडालले संगालोखबरसँग भनिन्, ‘पहिचानका लागि युवतीका कपडा, गहना, चप्पल सार्वजनिक गरेका छौं ।’
उनले विभिन्न कोणबाट घटनाको अनुसन्धान भइरहेको उल्लेख गरिन् । ‘कहीँ कतैबाट युवती हराएको भन्ने सूचना आएको छैन । हामीले खोजीका लागि विभिन्न माध्यबाट समन्वय गरिरहेका छौं’, डीएसपी चुडालले थपिन्, ‘अहिलेसम्म पहिचानकै लागि हामी लागिरहेका छौं ।’
घटनास्थलको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरी श्रोतका अनुसार बलात्कारपछि हत्या गरिएको आशंका गरिएपनि अहिलेसम्म प्राप्त तथ्य र प्रमाणबाट पुष्टि हुन सकेको छैन ।
‘यी युवती घरबाट हराएको नहुन सक्छिन्’, प्रहरी श्रोत भन्छ, ‘घरबाट हराएको भए तुरुन्तै रिपोर्ट गरिहाल्थे । कसैले भगाएर लगेको मान्छे पनि हुनसक्छिन्, अथवा कसैको घरेलु कामदार पनि हुन सक्छिन्, भारततिरबाट ल्याएर काम गर्न राखेको पनि हुनसक्छ भन्ने अनुमान छ । पहिचान भएपछि बाँकी कुरा खुल्छ ।’

संगालोखबर 













