
विराटनगर । सुनसरीको इनरुवा नगरपालिका-९ बबियामा पति-पत्नी घरभित्रै मृत फेला परेका छन् । प्रहरीका अनुसार आज बिहान ४० वर्षीय शुकदेव शर्मा र उनकी पत्नी ३२ वर्षीया सवेता खातुन मृत फेला परेका हुन् ।
सुनसरी प्रहरीका अनुसार बाँसको टाटीबेरा भएको एक तले कच्ची घरको धुरीमा झुण्डिएको अवस्थामा शुकदेव मृत फेला परेका छन् भने पत्नी ओछ्यानमा मृत फेला परेकी हुन् । स्थानीयले दम्पतीलाई मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
‘श्रीमानले पहिला पत्नीको हत्या गरेर आफूले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ’, सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले संगालोखबरसँग भने, ‘अरु त त्यस्तो शङ्कास्पद देखिएको छैन । अनुसन्धानलाई अघि बढाएका छौं ।’
घटनास्थलमा पुगेको प्रहरी टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि घरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाएको छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

संगालोखबर 













