
विराटनगर । विराटनगर महानगरपालिका-१४ मलाया रोडबाट ठूलो परिमाणमा लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । विराटनगर-१२ का २३ वर्षीय रोशनलाल महतो र भारत बिहारको अररियाका २१ वर्षीय पवनकुमार यादव पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले शनिबार साँझ उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
को ३० प ४१० नम्बरको मोटरसाइकलमा अडेस लागेर गफ गरिरहेको अवस्थामा शङ्का लागेर चेकजाँच गर्दा महतोको साथबाट १ सय ७४ ग्राम ३१ मिलिग्राम ब्राउन सुगर बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन् ।
मोटरसाइकल र ब्राउन सुगरसहित पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखेर आवश्यक अनुसन्धान सुरु गरिएको छ । एक सय ग्रामदेखि माथि जतिसुकै परिमाणको लागूऔषध कारोबार गरेपनि १५ वर्षदेखि जन्मकैद र पाँच लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुनसक्नेछ ।

संगालोखबर 













