
विराटनगर । सञ्चारकर्मी सञ्चार सहकारी संस्थाको १४ औं स्थापना दिवसको अवसरमा चारजना पत्रकार पुरस्कृत हुने भएका छन् । आइतबार बसेको कार्यसमितिको बैठकले हरेक वर्ष असार २७ गते स्थापना दिवसका अवसरमा प्रदान गरिने पुरस्कारबाट पुरस्कृत हुने पत्रकारहरूको नाम टुङ्गो लगाएको हो ।
पुरस्कार दातासहितको परामर्श एवं पुरस्कार छनोट समितिको सिफारिसको आधारमा पुरस्कृत हुने पत्रकारहरूको नाम टुङ्गो लगाएको सहकारीका अध्यक्ष दीपक दाहालले जानकारी दिए ।
अध्यक्ष दाहालका अनुसार ५१ हजार रुपैयाँ राशीको तोरेन्द्र-इन्दिरा प्रेस स्वतन्त्रता सम्मान नेपाल पत्रकार महासंघ मोरङका संस्थापक अध्यक्ष एवम् नेपाल खोज अनलाइनका प्रधान सम्पादक सुवास ढकाललाई प्रदान गर्ने निर्णय भएको छ ।
१० हजार रुपैयाँ राशीको मीनादेवी श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कार विराट पोष्टकी पत्रकार रुमा दाहाल (निशा) लाई प्रदान गर्ने निर्णय भएको छ ।
त्यसैगरी २१ हजार रुपैयाँ राशीको मेम्बर चन्द्रलाल-दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कार ब्लाष्ट दैनिक विराटनगरका सम्वाददाता अनिल श्रेष्ठलाई प्रदान गर्ने निर्णय भएको दाहालले जानकारी दिए ।
५० हजार रुपैयाँ राशीको ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष एवम् उद्घोष दैनिकका पत्रकार बन्धु पोखरेललाई प्रदान गर्ने निर्णय भएको छ ।

संगालोखबर 













