विराटनगर । विराटनगर-९ स्थित श्री हस्पिटलमा घरधनीले ताला लगाइदिएका छन् । घरभाडा वापतको भुक्तानी नपाएको भन्दै शुक्रबार घरधनी सुष्मा सिंहले ताला लगाइदिएकी हुन् ।
पाँच महिनादेखि भाडा वापतको रकम नपाएको र पुरानो बाँकी रकम पनि नपाएपछि ताला लगाउन बाध्य भएको घरधनी सिंहको भनाइ छ ।
६ महिना अगाडि नै घर खाली गरिदिन आफूले जानकारी गराइसकेको भएपनि अस्पताल संचालकले अटेर गरेको उनको भनाइ छ । उनका अनुसार पाँच महिनाको नौ लाख र पुरानो बक्यौता रकम समेत हस्पिटल संचालकले तिर्न बाँकी छ ।
तर अस्पताल प्रशासन भने यो कुरा मान्न तयार छैन । ताला लागिसकेपछि शुक्रबार साँझ पत्रकार सम्मेलन गर्दै अस्पताल प्रशासनले घरधनीले उल्टै आफूहरूलाई पैसा दिन बाँकी रहेको उल्लेख गरेको छ ।
हस्पिटलका अध्यक्ष सुनिल कुमार यादवका अनुसार घर मर्मतको खर्च घरबेटीले तिर्ने गरी सम्झौता भएको थियो । ‘हामीले ५३ लाख ६३ हजार रुपैयाँ भाडा वापतको रकम बुझाइ सकेका छौं’, पत्रकार सम्मेलनमा उनले भने, ‘हामीले भाडा वापतको रकम दिन बाँकी छैन । घर मर्मतको रकम जोड्ने हो भने उहाँसँग २१ लाख बढी हामीले पाउन छ ।’
मासिक दुई लाख ५० हजार भाडा तिर्ने गरी २०८० सालमा घरधनीसँग सम्झौता भएको र सोही बमोजिम आफूहरूले भाडा तिर्दै आएको उनले बताए । हस्पिटलका अध्यक्ष यादबका अनुसार ताला लगाइएका कारण हस्पिटलमा रहेका तीन जना बिरामीलाई अन्यत्र पठाउनु परेको छ । उनले आफूहरूमाथि अन्याय भएको बताए ।
हस्पिटल संचालकले घरभाडा नदिएको भन्दै महानगरपालिकाको न्यायिक समितिमा समेत उजुरी परेको थियो । जसमा न्यायिक समितिले सिंहकै पक्षमा फैसला गरेको छ ।