विराटनगर । विराटनगरमा ‘प्रहरी हौं’ भन्दै लुटपाट गर्ने गिरोहका अर्का एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर–११ का २५ वर्षीय कुशल पाण्डे छन् । उनलाई मोरङ प्रहरीले बुधबार पक्राउ गरेको हो ।
उनी नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) विराटनगरका नेता हुन् । यसअघि प्रहरीले दुई जनालाई पक्राउ गरिसकेको छ । गत असार ११ बिहान ११ः१५ बजे विराटनगर-१५ का बिक्रमकुमार साह तेली बैंकमा पैसा जम्मा गर्न भनेर सिटी सफारी चढेका थिए ।
प्रहरीका अनुसार उनीसँग तीन लाख ६४ हजार रुपैयाँ थियो । साह बैंकतर्फ आउँदै गर्दा विराटनगर-१३ रानीस्थित राइस मिल छेउमा रातो स्कुटरमा रहेका तीन जना अपरिचित व्यक्तिले रोकेर जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएका ‘प्रहरी हौं’ अनुसन्धान गर्नु छ भन्दै जबरजस्ती स्कुटरमा राखेका थिए ।
त्यसपछि दुई जनाले साहलाई विराटनगर-१४ जतुवाको एकान्त स्थलमा पुर्याएर साथमा भएको नगद लुटेका थिए । पीडितले दिएको निवेदनका आधारमा यसअघि दुई जनालाई पक्राउ गरिसकेको प्रहरीले अनुसन्धानका क्रममा पाण्डेको पनि संलग्नता पाएपछि पक्राउ गरेको हो ।
यसअघि असार १५ गते को १४ प ३३३० नम्बरको स्कुटरसहित विराटनगर-८ का २४ वर्षीय समिर हुसेन र विराटनगर-६ का २७ वर्षीय आशिफ अन्सारी पक्राउ परेका थिए । उनीहरूमाथि अदालतबाट म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
पाण्डेलाई एक लाख ५० हजार नगदसहित पक्राउ गरिएको मोरङ प्रहरीका डीएसपी हस्तबहादुर सुनारले जानकारी दिए । प्रहरीका अनुसार पाण्डेमाथि यसअघि इलाका प्रहरी कार्यालय रानी र जिल्ला प्रहरी कार्यालयमा ज्यानमार्ने उद्योग तथा अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता भएको थियो ।