विराटनगर । विराटनगरलाई केन्द्रबिन्दु बनाएर चोरीमा संलग्न भएको आरोपमा तीन भारतीय महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको पूर्णिया ठेगाना बताउने २४ वर्षीया प्रियङ्का धामी, २५ वर्षीया बिहोला धामी र २० वर्षीया अटकारी धामी छन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार विराटनगर बजार क्षेत्रमा भाडाका सवारी साधनमा आवत-जावत गर्ने असहाय र वृद्धवृद्धा उमेरका मानिसहरूले बोकेको सामान तथा नगद र गरगहना चोरी हुनेगरेको गुनासो बढेको थियो ।
सोही आधारमा विशेष निगरानी बढाए उक्त समूहको खोजी गरिरहेको प्रहरीले बिहीबार दिउँसो २ः३० बजेको समयमा शंकास्पद मान्छेहरू सिटी चढेर कटहरी गाउँपालिकातर्फ जाँदै गरेको सूचना पाएको थियो ।
उनीहरूलाई नगद तीन लाखसहित कटहरी-१ बुधहाटबाट पक्राउ गरिएको डीएसपी चुडालले जानकारी दिइन् । उनका अनुसार उक्त सफारीमा कटहरी-४ का ७० वर्षीय नारायणप्रसाद काफ्ले पनि सवार थिए ।
उनै वृद्धले झोलामा राखेको रकम झिकेर उनीहरूले लुकाएर राखेको खुलेको डीएसपी चुडालको भनाइ छ । उनीहरूविरुद्ध चोरी मुद्दामा जाहेरी परेसँगै अदालतबाट म्याद थप गरेर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।