विराटनगर । सुनसरीबाट गाँजासहित दुई जना पक्राउ परेका छन् । बुधबार साँझ बराहक्षेत्र नगरपालिका-८ तिनकुनेबाट को ३७ प १२५३ नम्बरको मोटरसाइकलमा सवार उनीहरू लाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मोटरसाइकल चालक उदयपुरको बेलका नगरपालिका-८ का २२ वर्षीय धिरज राई र पछाडि सवार बेलका-७ का ३१ वर्षीय लोकेन्द्र राई छन् । उनीहरूलाई चतराबाट प्रकाशपुरतर्फ जाँदै गर्दा पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा दुई वटा जेब्रा झोलाबाट ३४ किलो गाँजा बरामद गरेको छ । पक्राउ परेका दुबै जनाविरुद्ध इलाका प्रहरी कार्यालय महेन्द्रनगरले आवश्यक अनुसन्धान गरिरहेको छ ।