धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४८ करोड भन्दा बढीको बजेट प्रस्तुत गरेको छ । गाउँसभाको मङ्गलबार सम्पन्न १७ औं अधिवेशनमा ४८ करोड ८४ लाख ४३ हजार बराबरको बजेट प्रस्तुत गरिएको हो ।
चौबिसे गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङको अध्यक्षतामा भएको सभामा उपाध्यक्ष टंकमायाँ पाङ्मी मगरले बजेट प्रस्तुत गरेकी हुन् ।
कुल बजेटमध्ये चालु खर्चतर्फ ६३ दशमलव ८० प्रतिशत र पूँजीगततर्फ ३६ दशमलव २० प्रतिशत विनियोजन गरिएको छ । जस अनुसार चालु खर्चमा ३१ करोड १६ लाख ५२ हजार बजेट छुट्याइएको छ भने पूँजीगततर्फ १७ करोड ६९ लाख ९१ हजार बजेट विनियोजन भएको छ ।
चालु आर्थिक वर्षका लागि चौबिसे गाउँपालिकाले ५३ करोड २० लाख ५३ हजार बजेट विनियोजन गरेको थियो । त्यसको तुलनामा आगामी आर्थिक वर्षका लागि बजेटको आकार घटेर ४ करोड ३६ लाख १० हजार कम भएको छ ।
आगामी आर्थिक वर्षको बजेटमा चौबिसे गाउँपालिकाले पर्यटन क्षेत्रलाई प्राथमिकता दिएको छ ।
बजेटमा पालिका क्षेत्रका तालहरू निर्माण तथा संरक्षण, होमस्टे व्यवसाय प्रवर्द्धनसहित पर्यटन विकासका कार्यक्रमलाई प्राथमिकता दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम दाहालले जानकारी दिए ।
अधुरा भवनहरू निर्माणलाई पूर्णता दिने, खानेपानी व्यवस्थापन, सडक विस्तार तथा स्तरोन्नति लगायतलाई पनि बजेटमा प्राथमिकता दिइएको छ ।